२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेकपा माओवादी केन्द्रको ३० प्रतिशत हिस्सा एमालेमा समाहितः नेता थापा

१६ पुस, प्यूठान । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मणिचन्द्र थापाले नेकपा माओवादी केन्द्रको ३० प्रतिशत हिस्सा एमालेमा समाहित भएको जानकारी दिएका छन । नेकपा एमाले नाै बहिनी गाउँपालिका प्यूठानको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै स्थायी कमिटी सदस्य थापाले यस्तो बताएका हुन ।

उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र देशमा समृद्धि सम्भव भएकाले माओवादी केन्द्रको ३० प्रतिशत हिस्सासहित आफूहरू एमालेमा एकताबद्ध भएर अघि बढेका छाैँ ।’ उनले अबको चुनावमा एमालेले स्पष्ट बहुमत प्राप्त गर्ने बताए ।

सोही कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्यूठानमा विजयी पार्टीको रूपमा स्थापित हुने उद्घोष गरे । उनले अहिलेसम्म पनि प्रथम पार्टीको रूपमा रहेको एमाले अबको चुनावमा विजयी पार्टीको रूपमा स्थापित हुने बताए । थापाले भने, ‘अब कसैका श्रीमति, कसैका भाउजु जिताउने र पार्टीलाई सहायक शक्ति बनाउने होइन पार्टीलाई प्रमुख शक्तिको रूपमा स्थापति गराउने हो ।’ उनले सहमतिका साथ नेतृत्व चयन गर्न र एकतावद्ध हुन कार्यकर्तामा आह्वान समेत गरे ।

सोही कार्यक्रममा एमाले कैन्द्रीय सदस्य हरि रिजालले नौ बहिनीमा एमालेले पहिलेदेखि नै आफूलाई व्यवस्थित, बलियो र संगठित बनाइराखेको भन्दै फेरि पनि चुस्त र दुरूस्त संगठन रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा पार्टीको दशौं महाधिवेशनको सन्देश, राष्ट्रिय राजनीतिमा नेकपा एमालेको भूमिका र जिल्लाको शक्तिसन्तुलन बारेमा उत्साहजनक उपस्थितिमा स्पष्ट गरिएको गाउँपालिका कमिटीका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य थापा, पोलिटब्यूरो सदस्य थापा, केन्द्रीय सदस्य रिजाल, प्रदेश कमिटी सदस्य अजय सिंह र जिल्ला कमिटी सदस्य डिलबहादुर थापा लगायतले विषयगत प्रशिक्षण पनि दिएका थिए ।

प्रकाशित मिति : December 31, 2021 at 12:15 pm