५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

११ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। आइतबार नेप्सेले समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनीले र हकप्रद शेयर निष्काशन प्रयोजनार्थ समृद्धि फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयर नेज्सेले समायोजन गरेको हो । यस्तै नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजपश्चात बुटवल पावरको शेयरमूल्य ४३८ रुपैयाँ ७३ पैसा र समृद्धि फाइनान्सको ३६१ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार दोस्रो बजारमा बुटवल पावरको शेयर प्रतिकित्ता ४८२ रुपैयाँ ६० पैसा र समृद्धि फाइनान्सको ४९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बुटवल पावरले पुस २६ गते साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै समृद्धि फाइनान्सले २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पुस ११ गते बुकक्लोज गर्न लागेको छ। फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति : December 26, 2021 at 8:56 am