विदेशी मुद्रा संचिती घट्दै, आयात धान्ने कसरी ?
४ पुस, काठमाडौं । उच्च व्यापार घाटा र रेमिट्यान्स आप्रवाह घट्दै गएपछि देशको विदेशी मुद्रा संचितीमा दबाब बढ्दै गएको छ । विदेशी मुद्रा संचिती घट्दै जाँदा आयात धान्नै समस्या हुन थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय संचितीबाट आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
अर्थशास्त्री चन्द्रमणि अधिकारी देशको विनियम संचिती खतरा नजिक पुगेको बताउँछन् । ‘६ महिनाभन्दा कमको आयात धान्ने मुद्रा संचिती खतराको सूचक हो,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रको सूचकले खतराको संकेत गरेकाले बेलैमा सचेत हुन आवश्यक छ ।’ मुद्रा संचिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरिसकेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असारमसान्त २०७८ मा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय संचितीमा ११.० प्रतिशतले कमी आई कार्तिकमसान्त ०७८ मा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ ।
कोभिड महामारीका कारण आयात कम हुँदा गत वर्ष पुसमा विदेशी विनिमय संचिती १५ खर्ब नाघेको थियो । कार्तिकमा अमेरिकी डलरमा यस्तो संचिती असारमसान्त ०७८ मा ११ अर्ब ७५ करोड रहेकोमा कार्तिकमसान्त ०७८ मा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संचिती २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई ११ खर्ब ७ अर्ब ४७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सन्चिती २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ ।
कार्तिक मसान्त २०७८ को कुल विदेशी विनिमय संचितीमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक २०७८ मा रेमिट्यान्स ७ प्रतिशतले घट्नुका साथै व्यापार घाटा भने ५६ प्रतिशतले वृद्धि भएको छ ।
प्रकाशित मिति : 17:35









