पार्टीको संगठन भत्काउने नेकपाका नेता न्यौपानेविरुद्ध कारबाहीको मागसहित उजुरीको ओइरो
१२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मुकुन्द न्यौपानेविरुद्ध पार्टीको संगठन विगार्न भूमिका खेलेको भन्दै उजुरीको ओइरो लागेको छ । संगठन बनाउनै कठिन रहेको परिस्थितिमा दुःख गरेर जम्मा गरेको कार्यकर्तालाई विभिन्न नाममा तितरवितर पारेको भन्दै न्यौपानेमाथि उजुरी परेको हो ।
तत्कालीन नेकपा एमालेले पर्यटन क्षेत्रमा गरेको संगठन न्यौपानेले भताभुंग पार्न खोजेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । न्यौपानेले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको निर्वाचन प्रक्रियामा सहभागी भएर मुल नतिजा स्वीकार गरेर बसेका केही व्यवसायीलाई उचालेर पछि राजिनामा गर्न लगाएका थिए ।
पर्यटन व्यवसायमा लागेका तर आफ्नो विगतको वद्नामी छोप्न राजनीतिक पार्टीको सहारा लिएकाहरुलाई प्रयोग गर्दै समानान्तर संगठन बनाउने कोशिश गरेका थिए । न्यौपानेले एमाले र माओवादी एक भएर देशैभर एकताको सन्देश गैरहेको समयमा आफैँ समेत संलग्न भएर स्थापना गरेको संगठनलाई विभाजित गरेको सन्देश जवर्जस्त दिन खोजका थिए ।
उनले पद नपाएर असन्तुष्ट बनेकालाई बोकेर हिडेको भन्दै नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेल समक्ष छुट्टा छुट्टै उजुरी परेको छ ।
तत्कालीन एमाले र माओवादीका संगठनहरुलाई एकतावद्ध बनाउनुपर्ने समयमा न्यौपानेले तत्कालीन एमालेको संगठनमै चिरा पार्ने प्रयत्न गरेपछि यस्तो कारबाहीको मागसहित उजुरी परेको नेकपाको मुख्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १६:१८