२ असार २०८१, आईतवार | Sun Jun 16 2024

थ्री स्टारलाई तीन डिफेण्डरको तीन गोल, च्यासलको खराब सुरूवात


४ मंसिर, काठमाडाैँ । तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले च्यासल यूथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

थ्री स्टारको जितमा डिफेण्डर निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले तिनै गोल “सेट पिस” मा भएको थियो । यता, पहिलो हाफमा च्यासलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । इटालियन मूलका विकास मेराग्लीयाको प्रहार थ्री स्टारका गोलरक्षक प्रीसोले बन्च गरेका थिए ।

खेलको २२औं मिनेटमा निशानले करिब ३० यार्डबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए । ४४औं मिनेटमा रिमले हेड मार्फत २-० को अग्रता बनाए । खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाए ।जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रह्यो । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

आजनै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १-१ गोलको बराबर खेल्दै अंक बाडे । लिग अन्तर्गत आइतबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार २०:१०