प्रधानमन्त्री केपी ओलीद्धारा सरकारका बार्षिक कामहरुको प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तण
११ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यन्वयनका लागि सरकारले गरेका कामहरुको बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आर्थिक बर्ष २०७३ ÷ ०७४ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो ।
चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निदेर्शक सिद्धान्त,नीति र दायित्वको कार्यन्वयनका लागि भएका काम र उपलब्धीहरु, सरकारी वित्त व्यवस्था र उपहसंहार समेटिएको छ । सो आर्थिक बर्षमा सरकारबाट २२ बिषयगत ऐन निर्माणका बिधयकहरु,२१ नियमावलीहरु,नौ बिषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्यविधि स्विकृत भएको बताउनुभएको छ । सो कार्यविधि अनुसार संघीय शासन प्रणाली अनुरुपको कानुनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमहरुलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ । प्रधानमन्त्ती ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त,नीति तथा दायित्वलाई क्रमश कार्यन्वयन गर्दै समृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १८:०७