२ असार २०८१, आईतवार | Sun Jun 16 2024

सहिद स्मारक ए डिभिजनको उद्घाटन खेल बराबरीमा टुङ्गियो


३ मंसिर, काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङिगएको हो । यस बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक÷एक अङ्क बाँडेका छन् ।

खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो ।

खेलको दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो । त्यस्तै खेलको ५७औँ मिनेटमा सातदोबाटोका आकाशबुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।

खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो । सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए ।

खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए । खेलको ७६औँ मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।

लिगको उपाधि विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख प्राप्त गर्नेछन् । लिगअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २३:२५