२ असार २०८१, आईतवार | Mon Jun 17 2024

ए डिभिजन लिग विशेषः लक्ष्यविहीन हिमालयन शेर्पा क्लब


-रमेश सुवेदी

२ मंसिर, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले हाँकेको क्लब हो, हिमालयन शेर्पा क्लब । शीर्ष डिभिजनको लिग शुक्रबारबाट सुरू हुनै लाग्दा शेर्पाले समेत आफ्नो तयारी लगभग पूरा गरेको छ । उसले लिगअघि केही मैत्रीपूर्ण खेल र त्यसअघि मोफसलको बेलबारी गोल्डकप पनि खेल्यो । उपाधि पनि जित्यो ।

त्यसपछि शेर्पाले अन्तिम खेलाडी जम्मा पारेर काठमाडौं केन्द्रित लिगको तयारी पूरा गरेको छ । युवा प्रशिक्षक युगल किशोर राईको प्रशिक्षणमा रहेको शेर्पाले युवा स्ट्राइकर विश्वास श्रेष्ठलाई टोलीको कप्तानी सुम्पिएको छ । यसअघि करिब एक दशक क्लबमै रहेका मानबहादुर तामाङ सातदोबाटो लागेपछि टोलीको कप्तानी एन्फा एकेडेमी उत्पादक श्रेष्ठले पाएका हुन् ।

२०६३ सालमा स्थापना भएको हिमालयन शेर्पा क्लब पहिलो पटक २०६८ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता क्लबले निरन्तर ए डिभिजन लिग खेल्दै आएको छ । तर, टोलीको प्रदर्शन र लिगको नतिजा भने सन्तोषजनक छैन । टोलीले हालसम्म लिग उपाधि हात पार्न सकेको छैन । यतिमात्र हैन टोली ‘सुपर सिक्स’मा समेत कमै रहँदै आएको छ ।

२०६८ सालमा शीर्ष डिभिजनमा बढुवा भएसँगै राष्ट्रिय लिगलाई छनोट भएको टोलीले पोखरा र बुटवलमा सम्पन्न राष्ट्रिय लिगमा सनसनीपूर्ण प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको थियो । त्यो नै हो क्लबले हालसम्म पाएको सबैभन्दा ठूलो उपलब्धि । त्यसयता क्लबले निरन्तर रेलिगेसन जोनबाट मात्र जोगिने योजना ल्याएको छ । अर्थात त्यहाँबाट माथि जान सकेको छैन ।

यस पटकसमेत टोलीले त्यस्तो ठूलो कुनै योजना ल्याएको छैन । ठूला भनिएका र स्टार खेलाडीमा खासै लगानी नगरेको शेर्पाले पुनः एक पटक युवा खेलाडी र चार विदेशी खेलाडीको भरमा शीर्ष डिभिजन लिगमा बच्ने योजना बनाएको छ ।

क्लबका मुख्य प्रशिक्षक युगल लिगको लागि थोरै समय भएको र त्यसका बाबजुद पनि टोली लयमा आएको बताउँछन् । ‘हामीले ३० दिन मात्र अभ्यास गरेका छौं । यतिको समयमा हामीलाई खेल्न निकै गाह्रो हुन्छ । हामीसँग धेरै प्रतियोगिता नहुँदा खेलाडीले पनि घरमै समय बिताउन पर्‍याे । एउटा राम्रो पक्ष भनेको बेलबारीमा हामीले राम्रो तयारी गर्न पायाैँ। टिम एउटा लयमा आएको छ’, युगलले भने ।

खेलाडी जीवनमा नेपाल पुलिस, न्युरोड टिम एनआरटी लगायत क्लबबाट ए डिभिजन लिग खेलेका युगललले युवा खेलाडीमा ‘प्यासन’ भएको र खेलाडीले ‘सिष्टम’लाई कार्यान्वयन गरे राम्रो पोजिसन आउनेमा आफू विश्वस्त भएको बताउँछन् ।

‘फिटनेशमा खेलाडीले राम्रो गरे राम्रो हुन्छ । म्यानेजमेन्ट टिमबाट पनि सहयोग भए हामीले राम्रो गर्छौं । मैले टोलीलाई कहाँसम्म पुर्‍याउँछु भन्दा पनि यो मेरो युवा खेलाडी र युवा टोली छ । खेलाडीमा ‘प्यासन’ छ । सिष्टम छ । सिष्टमलाई फलो गरेको खण्डमा राम्रो हुन्छ । हाम्रो मुख्य ध्यान भनेकै ‘सिष्टम’ हो । म कर्मयोगी हो । मेहनत गर्छौ‌ं, सुरुमै यही भन्न सक्दैनौँ । एक दुईवटा खेल हेरेपछि एउटा पोजिसन आउँछ’, नेपाल राष्ट्रिय टोलीबाट समेत अट्याकरको भूमिका निर्वाह गरेको उनी भन्छन् ।

उनी टोलीले अहिले नै यही पोजिसन भन्न नसक्ने र केही खेलपछि मात्र टोली कहाँ पुग्छ र कहाँसम्म पुर्‍याउने सकिने त्यसपछिमात्र बताउन सकिने बताउँछन् । गत सिजन मछिन्द्र पहिलो पटक लिगको उपाधि जित्दा हिमालयन शेर्पा क्लबले १० औं स्थानमा टुंगाएको थियो । १३ खेल खेलेको शेर्पाले तीन जित, पाँच बराबर र पाँच हार सहित १४ अंक जोडेको थियो ।

त्यसअघि भएको २०७५ सालको बिना रेलिगेसनको लिगमा शेर्पा ७ औं स्थानमा रहेको थियो । १३ खेल खेल्दा पाँच जित, दुई बराबर र छ खेलमा हार व्यहोरेको शेर्पाले १७ अंक बटुलेको थियो । गत सिजन भने क्लबले आफ्ना भरपर्दा स्ट्राइकर विश्वास श्रेष्ठलाई सुरूवाती केही खेलमै चोटका कारण गुमाएको थियो । करिब एक वर्षपछि जेठमा मैदान फर्किएका विश्वासले यस पटक टोलीको कप्तानी गर्नेछन् ।

कप्तान विश्वास भने टोलीमा खेलाडीको तालमेल राम्रो भएको र सबै खेलाडी युवासहित मिहेनती भएको कारण राम्रो नतिजा आउनेमा विश्वस्त छन् । ‘टोलीको तयारी लामो त हुन पाएन । तर बेलबारी गोल्डकप जितेपछि खेलाडीमा मनोबल बढेको छ । सोही प्रतियोगिताले गर्दा हाम्रो तालमेल पनि राम्रो छ । सबै युवा खेलाडी छौं । मेहेनती पनि छौं । यस पटक राम्रो गर्छौं’, पहिलो पटक ए डिभिजन लिगमा टोली कप्तानी गर्न लागेका स्याङ्जा वालिङ निवाशी श्रेष्ठ भन्छन् ।

यस्तै श्रेष्ठ विदेशी खेलाडीसमेत राम्रा र अनुभवी भएकाले पनि टोलीको प्रदर्शनमा धेरै फरक पार्ने र टोलीले शीर्ष ६ का लागि प्रतिस्पर्धा गर्ने बताउँछन् । ‘हामीसँग यसअघि खेलेका दुई र एक जापानी खेलाडीसहित भारतीय खेलाडी छन् । सबै राम्रो हुनुहुन्छ । साथै नेपालको राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीसमेत छन् । त्यसैले यो पटक ‘टप सिक्स’ भित्र पर्ने गरी खेल्छौं’, एन्फा एकेडेमीका उत्पादक २४ वर्षीय विश्वास श्रेष्ठ भन्छन् ।

यस पटक शेर्पाका राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्की, त्रिदेभ गुरुङ, कमल थापा छन् । दीप यस पटक मनाङ मर्स्याङ्दी हुँदै शेर्पा आइपुगेका हुन् । यस पटक टोलीको विदेशी खेलाडीमा जापानी खेलाडी रियो नाकामुरा, भारतीय यू-१९ टोलीका पूर्व खेलाडी मोईनुदिन खानसहित उर्लिच सिवेलाई अनुबन्धन गरेको छ ।

२०६८ सालको पहिलो लिगमा पाँचौं स्थान हासिल गरेको टोली अन्य संस्करणमा मध्यपंक्तिमा रहेर लिग अन्त्य गर्नमै रमाउँदै आएको छ । एन्फा अध्यक्ष शेर्पाको क्लब भएकाले राम्रो टिम बनाएर सुधारिएको प्रदर्शन गर्नु हिमालयन शेर्पाका लागि चुनौती बनेको छ ।

हिमालयन शेर्पा टिम : विश्वास श्रेष्ठ (कप्तान), त्रिदेव गुरुङ, दीप कार्की (गोलरक्षक), कमल थापा, प्रिस्टोन मुटाम्बा, रियो नाकामुरा, उर्लिच सिवे, दिवस उराउ, उमेश राई, सन्जित राई, निश्चल शाही, विशाल ठकुरी श्रेष्ठ, जिवन गुरुङ, सुरेश कुमार, कर्मा शेर्पा, मनिष थापा, अमृत श्रेष्ठ, विवेक पण्डित, किशोर गिरी, मोइनुदिन खान, आशिष गुरुङ, विजय श्रेष्ठ

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १४:४६