२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

न्यायालयको समस्या समाधान गर्न एकीकृत अवधारणा बनाउन एकीकृत समाजवादीकाे अपिल

२८ कात्तिक, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु र न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरु र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको एकिकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकको निर्णय बारे जानकारी दिदैँ उनले भने – ‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिनु संविधानवादको विरुद्ध हुन जान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खल्ल्बल्लिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ ।

कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु , उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु, न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन् । न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यो संकट समाधानका लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरु बिच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ ।’

बैठकले पार्टी कार्यकर्ताहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपदको बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको उनले जानकारी दिए । उनले भने – ‘विपद् जोखिम न्युनिकरण प्रशिक्षण सञ्चालन गर्न, विपदका पूर्वतयारीका लागि जनसहजकर्ता निर्माण गर्न, विपद जोखिम न्युनिकरण शिक्षा अभियानको रुपमा सञ्चालन गर्न र जनजागरण अभियान सञ्चालन गर्न, विपदको बेला खोज, उद्धार र राहत सहयोग कार्यलाई प्रभावकारी बनाउन विपद जनस्वयंसेवक निर्माण गरी परिचालन गर्न केन्द्रीय विभागले यो योजना बनाएको छ । र सबै जिल्लाका कार्यकर्ताहरुलाई यो काममा लाग्नका लागि निर्देशित गरेको छ ।’

बैठकले हालै गठन भएको पाँच दलीय गठबन्धन समन्वय समितिलाई स्वागत गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई निर्वाचनसम्म लैजान यसले शसक्त भूमिका खेल्न पहलकदमी लिनेमा विश्वास व्यक्त गरेको छ । बैठकले गठबन्धनलाई कसिलो बनाउन आव्हान गरेको पनि प्रवक्ता खतिवडाले बताए ।

उनले भने – ‘लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वामलोकतान्त्रिक गणबन्धनलाई अझ कसिलो बनाउन यो बैठक समस्त वाम लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई हार्दिक आव्हान गर्दछ । वाम लोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि हालै गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिलाई यो बैठक हार्दिक स्वागत गर्दछ ।

सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पु¥याउने उदेश्यले गरिएको यो प्रयत्न सराहनीय छ । आगामी दिनमा प्रतिगामी, दक्षिणपन्थी शक्तिका विरुद्धमा यो मोर्चा सशक्त रुपमा क्रियाशील गराउन निरन्तर पहलकदमी गर्न यो बैठक आवश्यक ठान्दछ ।’

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय जनगणनामा सही तथ्यांक दिएर सहभागिता जनाउन सबैलाई आग्रह गर्दै कालापानी र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । प्रवक्ता खतिवडाले यसबारे बैठकको निर्णय जानकारी गराउदै भन्नुभयो – ‘कालापानी र लिम्पियाधुरा क्षेत्रमा जनगणनाको कुरा अवरोधमा भइरहेको हुनाले सरकारले तत्काल यसको व्यवस्था गर्न र जनगणनाको व्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।’

एकीकृत समाजवादीले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँसमा गरिएको मुल्यवृद्धि यथाशिघ्र फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ । शनिवारदेखि बसेको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको छ ।

प्रकाशित मिति : November 14, 2021 at 8:55 pm