नेपाल लाइफले कमायो १५ करोड नाफा, कस्ता छन् अन्य सूचक ?
२० कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा २८.७५ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको कुल आम्दानी १०.३९ प्रतिशतले बढेर २० अर्ब २७ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ रहेको थियो । यसैगरी, कम्पनीको कुल खर्च पनि ११.४३ प्रतिशतले बढेर १९ अर्ब २५करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १०.०८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै कर्जा तथा लगानीबाट प्राप्त आम्दानी १४.३७ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्षको असोज मसान्तसम्म ९ रुपैयाँ ५५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ६ रुपैयाँ ४८ पैसामा सीमित भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा रहेको छ ।
प्रकाशित मिति : November 6, 2026 at 9:35 am










