भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा
-कुलप्रसाद काफ्ले
२६ कात्तिक, चितवन । भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् ।
आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । यही आरोपमा श्रेष्ठ र बस्नेत थुनामा गएका हुन् ।
भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप छ । आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको थियो ।
पोष्टमार्टम रिर्पोटमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात टाउकोमा लागेको चोटका कारण खुलाइएको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।
परिवारले अझै पनि शव बुझेको छैन । भीमबहादुर विकको मृत्युसम्बन्धमा जाँचबुझका लागि मानव अधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो ।
प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १३:०२