जागिरकाे खाेजीमा हुनुहुन्छ ? प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी
२० कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि अधिकृतस्तरदेखि सहायक स्तरसम्म माग गरेकाे हो । प्राधिकरणले विभिन्न प्राविधिक तथा प्रशासनिक सेवाका रिक्त पदहरूमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणका अनुसार उच्च व्यवस्थापकीय अधिकृतस्तर अन्तर्गत प्राविधिक इलेक्ट्रिकल समूहको तह १० प्रबन्धक पदमा दलित समावेशी कोटाबाट १ जनाको माग गरिएको छ, जसका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष अधिकृतस्तरको कार्यअनुभव तोकिएको छ । यस्तै तह ८ अन्तर्गत प्रशासन सेवाको लेखा समूहमा खुलातर्फ १ जना सहायक निर्देशक र आदिवासी जनजाति कोटामा १ जना वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ ।
प्राविधिकतर्फ तह ८ कै सहायक प्रबन्धक पदमा खुला २ र आदिवासी जनजाति १ गरी ३ जना इलेक्ट्रिकल इन्जिनियर तथा महिला कोटाबाट १ जना कम्प्युटर इन्जिनियर माग गरिएको छ । तह ८ का यी पदहरूका लागि स्नातकोत्तर वा सीए उत्तीर्णसहित कम्तीमा पाँच वर्षको अधिकृतस्तरीय कार्यअनुभव अनिवार्य गरिएको छ ।

यसैगरी अधिकृतस्तरको तह ७ तर्फ विभिन्न प्रशासनिक तथा इन्जिनियरिङ पदहरूमा व्यापक पदपूर्ति गरिनेछ । प्रशासनतर्फ खुला ४, महिला १, मधेसी १ र अपाङ्ग १ गरी ७ जना प्रशासकीय अधिकृत, खुलातर्फ १ जना कानुन अधिकृत, खुला ३, महिला १, मधेसी १ र अपाङ्ग १ गरी ६ जना लेखा अधिकृत तथा खुला र महिला गरी २ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ ।
प्राविधिक इन्जिनियरिङतर्फ सबैभन्दा धेरै इलेक्ट्रिकल इन्जिनियर पदमा खुला २२, महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ गरी कुल ४१ जनाका लागि विज्ञापन खुलाइएको छ ।
त्यसैगरी तह ७ मै खुला र दलित गरी २ जना इलेक्ट्रोनिक्स इन्जिनियर, खुला २, आदिवासी जनजाति १ र मधेसी १ गरी ४ जना मेकानिकल इन्जिनियर, खुला २, महिला १ र पिछडिएको क्षेत्र १ गरी ४ जना सिभिल इन्जिनियर, खुलातर्फ १ जना सर्भे इन्जिनियर, खुला र आदिवासी जनजाति गरी २ जना कम्प्युटर इन्जिनियर, खुलातर्फ १ जना वातावरणविद् तथा मधेसी कोटामा १ जना जियोलोजिष्टका लागि दरखास्त आह्वान गरिएको छ ।
सहायक स्तरको तह ५ तर्फ पनि देशभरका विभिन्न प्रदेशहरूका लागि सयौं संख्यामा प्राविधिक तथा प्रशासनिक जनशक्ति माग गरिएको छ ।
प्रशासनतर्फ कोशीमा ४, बागमतीमा १३ र लुम्बिनीमा ११ गरी कुल २८ जना मिटररिडिङ सुपरभाइजर माग गरिएको छ भने लेखा समूहको लेखापाल पदमा कोशीमा १०, मधेशमा ३, बागमतीमा १० र लुम्बिनीमा ७ गरी कुल ३० जनाका लागि पद खुलाइएको छ ।
यी प्रशासनिक पदहरूमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण भई लोक सेवा आयोग वा संगठित संस्थाको पाँचौं तहको पूर्व योग्यता परीक्षा उत्तीर्ण भएकाहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्राविधिकतर्फ तह ५ को इलेक्ट्रिकल सुपरभाइजर पदमा देशभरका सातै प्रदेशबाट गरी कुल २८८ जनाको विशाल संख्या माग गरिएको छ, जसमा कोशी प्रदेशबाट ५७, मधेशबाट २६, बागमतीबाट ७०, गण्डकीबाट ३०, लुम्बिनीबाट ४२, कर्णालीबाट २८ र सुदूरपश्चिमबाट ३५ जना चयन गरिनेछ ।
यसबाहेक मेकानिकल सुपरभाइजर वा फोरम्यान पदमा कोशीमा २, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा ४ गरी कुल ८ जना तथा सिभिल सब-इन्जिनियर पदमा कोशीमा २ र सुदूरपश्चिममा १ गरी कुल ३ जना जनशक्ति माग गरिएको छ । प्राविधिक सहायक पदहरूका लागि सम्बन्धित विषयमा डिप्लोमा वा तीन वर्षे प्राविधिक प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ ।
उम्मेदवारहरूको उमेरको हकमा तह १० र तह ८ का पदहरूका लागि दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै तह ७ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तर तह ५ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
महिला तथा अपांगता भएका उम्मेदवारहरूको हकमा भने तह ७ र तह ५ का लागि माथिल्लो उमेर हद ४० वर्षसम्म कायम गरिएको छ, तर प्राधिकरणमा पहिलेदेखि नै कार्यरत स्थायी कर्मचारीहरूका लागि भने उमेरको कुनै हद लाग्ने छैन ।
दरखास्त दिन चाहने खुला तथा नयाँ उम्मेदवारहरूले प्राधिकरणको अनलाइन पदपूर्ति पोर्टल ‘करियर डट एनइए डट ओआरजी डट एनपी’ मार्फत र प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीहरूले आन्तरिक प्रणाली ‘एचआरआइएस डट एनइए डट ओआरजी डट एनपी’ मार्फत अनलाइन फाराम भर्न सक्नेछन् । दरखास्त बुझाउने साधारण म्याद २०८३ मंसिर १० गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म फाराम भर्न सकिनेछ ।


प्रकाशित मिति : November 6, 2026 at 10:52 am








