२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नेकपा एमाले बेलकोटगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा

२५ कात्तिक, नुवाकोट । नेकपा एमालेको बेलकोगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा निर्वाचित भएकी छिन । यसअघि संगठन कमिटीको सचिव रहेकी सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन । अध्यक्षमा आकांक्षा गरेका सबै उम्मेदवारलाई पछि पार्दै सापकोटाले अध्यक्षमा बाजी मारेकी हुन । उनी गत स्थानीय निर्वाचनमा उपमेयरमा झिनो मतान्तरमा पराजित भएकी थिइन ।

उपाध्यक्षमा भोजप्रसाद पुडासैनी र पशुपति लोहनी चयन भएका छन । एक जनामात्र उपाध्यक्ष चयन गर्नुपर्ने भए पनि आफ्नो असक्षमता छोप्न नेताहरूले सहमतिका नाममा दुई जना निर्वाचित भएको घोषणा गरेका छन । पुडासैनी वडा नम्बर ८ का निर्वाचित अध्यक्ष र लोहनी वडा नम्बर १३ का वडा अध्यक्ष हुन ।

त्यस्तै सचिवमा अनन्तराम नेपाल निर्वाचित भएका छन । नेपाल वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष समेत हुन । उपसचिवमा नारायण खनाल, बासुदेव गजुरेल, सरस्वती उप्रेती, जयन्ती तामाङ र गेहेन्द्रबहादुर न्यौपाने निर्वाचित भएका छन । दुई जना निर्वाचित हुनुपर्ने उपसचिवमा थप तीन जना निर्वाचित भएको घोषणा गरिएको छ ।

कुल पाँच जना पदाधिकारी हुनुपर्नेमा बेलकोटगढीमा ९ जनालाई पदाधिकारीमा निर्वाचित गरिएको घोषणा गरिएको छ । एमाले विधान भन्दा बाहिर गएर नेताहरूले सहमतिका नाममा आफूखुशी निकटका कार्यकर्तालाई पदाधिकारी बनाउन यस्तो गरेको भन्दै कतिपय पदाधिकारीले असहमति पनि जनाएका छन ।

१२ पालिका रहेको नुवाकोटमा १२ माध्ये ११ पालिकामा सम्पन्न भएको अधिवेशनमा लिखु र बेलकोटगढीको नेतृत्वमा महिला नेतृ चुनिएका छन । यसअघि लिखु गाउँकमिटीको अध्यक्षमा दुर्गा पुडासैनी चयन भएकी थिइन ।

मञ्चमा रमिता !

गाउँ संगठन कमिटीका पदाधिकारीलाई बाइबास परेर मञ्चको अध्यक्षता र सञ्चालनको काम जिल्ला कमिटीका उपसचिव र सदस्यले गरेका थिए । अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता उपसचिव विष्णु लोहनी र सञ्चालन जिल्ला कमिटीका सदस्य नारायण बस्नेतले गरेका थिए । बिहान ११ बजेका लागि कार्यक्रम भनेर प्रतिनिधि बोलाएर कार्यक्रम चाहिँ मध्यान्ह १२ बजे सुरू गरिएको थियो ।

प्रकाशित मिति : November 11, 2021 at 8:27 am