२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

माओवादीबाट निर्वाचित दुई वडाध्यक्षलाई कारवाही सिफारिस

२४ कात्तिक, धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडा अध्यक्ष पार्टीबाट निष्कासित गरेको छ।

माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७ को ञ अनुसार पार्टीबाट निष्कासन गरेको पार्टीका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए । उनीहरुलाई वडाअध्यक्ष पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टीकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निष्कासनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले बताए ।

महालक्ष्मी ३ का वडाध्यक्ष थापा ९ कात्तिकमा एमाले प्रवेश गरि एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति : November 10, 2021 at 7:21 pm