२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

एमाले अध्यक्ष ओली आगामी सोमबार धनकुटा आउने

२४ कात्तिक, धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी सोमबार धनकुटा आउने भएका छन् । छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले धनकुटाले छिन्ताङमा आयोजना गरेको ४३औं सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार धनकुटा आउने भएका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहने बताइएको छ । सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतको प्रस्तुति रहने स्मृति सभा प्रचारप्रसार उपसमिति संयोजक सावित्री राईले जानकारी दिइन् ।

खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कात्तिक अन्तिम साता तत्कालीन पञ्चायती सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो । कम्युनिस्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनकी सुत्केरीसहति १६ जनाको हत्या गरिएको थियो । १६ जना मध्ये कसैलाई भीरबाट लडाएर, कसैलाई गोली हानेर, कसैलाई अरुण नदीमा बगाएर हत्या गरिएको थियो ।

एमाले धनकुटाले स्मृति सभा सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष राजेन्द्र राईको संयोजकत्वमा प्रदेश संसद् निरन राई, प्रदेश संसद् तथा न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुली, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, एमाले सहिदभूमि गाउँ कमिटी अध्यक्ष निरबहादुर राईलगायत रहेको समिति गठन गरेको जनाएको छ।

प्रकाशित मिति : November 10, 2021 at 7:13 pm