२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छः प्रकाशमान सिंह

२४ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले अर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । ‘अर्ली इलेक्सन विधिसम्वत आयोस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’ उनले भने ।

राजनीतिक समिति संविधानविपरीत : सिंह

सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ । यो समितिको एमालेले विरोध गरेको छ ।

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिएका छन् । ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’ उनले भने ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संविधानविपरीत हुन जान्छ ।’

प्रकाशित मिति : November 10, 2021 at 11:40 am