५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महिला क्रिकेटरको तिहार विदेशमा


१९ कात्तिक, काठमाडौँ । नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ ।

घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ । दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । विभिन्न धर्म मान्दै आएका अझ भनौ हिन्दुधर्मका खेलाडीको लागि दशैँतिहार सधैँ विशेष रहन्छ ।

तर, यस्तै पर्वका समय खेलाडीलाई प्रतियोगिता तालिका पर्दा भने एक प्रकारको तनाब सृजना हुन्छ । चाडपर्व आइरहन्छ राष्ट्रको लागि खेल्नु सौभाग्य भन्दै खेलाडी प्रतियोगितामा होमिन बाध्य हुन्छन् ।

हो, यस्तै भएको छ अहिले महिला टोलीलाई, आईसिसी वुमन्स टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेकाे छ । त्यसअघि तिहारकै समय नेपाली टोलीको बंगलादेशमा एक साताको प्रशिक्षण समय तय भएको छ । नेपाली टोली त्यसका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

नेपाली टोली बंगलोदशमै रहँदा खेलाडीले तिहार मनाउने छन् । नेपालले यसै समयमा बंगलादेशको एक स्थानिय एकेडेमीसँग मैत्रिपूर्ण खेल खेल्ने तालिकासमेत तय भएको छ ।

नेपालले बंगलादेशमा ४ देखि १४ नोभेम्बरसम्म तयारी गर्नेछ । त्यसपछि नेपाली टोली सिधै युएई प्रस्थान गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्रले सहभागीता जनाउनेछन् ।

‘राउन्ड रोबिन लिग’ प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ‘ग्लोबल क्वालिफायर’मा स्थान बनाउनेछन् । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् । नेपाल हालसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन । प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ०९:४२