१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

प्रथम मेयर कपको उपाधि मुड्केचुलालाई


१८ कात्तिक, जाजरकोट । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाद्वारा आयोजित प्रथम मेयर कपको उपाधि मुड्केचुला गाउँपालिका युवा क्लबले जितेको छ ।

आयोजक नगरपालिका वडा नम्बर २ बाट खेलेको त्रिशक्ति युवा क्लबलाई हराउँदै मुड्केचुलाले एक लाख ५५ हजार राशिको प्रथम पुरस्कार जित्न सफल भएको हो ।

गत शनिबारदेखि नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा सञ्चालित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा द्वितीय पुरस्कार त्रिशक्ति युवा क्लबले जितेको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै त्रिशक्तिले ९५ हजार ५ सय पचपन्नसहित द्वितीय पुरस्कार जितेको हो । त्यसैगरी ६५ हजार ५ सय ५५ राशिको तृतीय पुरस्कार साइकक्वारी युवा क्लब माझफालले जितेको छ ।

जिल्लाभरबाट जम्मा चार समूहले मात्र खेलमा सहभागिता जनाएको महिला तर्फको खुला भलिबल प्रतियोगितामा ७० हजार ५ सय ५५ राशिको प्रथम पुरस्कार पनि साइक्वारी युवा क्लब माझफालले जितेको छ । ४५ हजार ५ सय राशिको द्वितीय पुरस्कार जगदुल्ला गाउँपालिकाको महिला समूहले जितेको छ ।

त्यसैगरी ३० हजार ५ सय ५५ राशिसहितको तृतीय पुरस्कार जनप्रभा माध्यमिक विद्यालयको महिला समूहले जितेको छ । खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार आयोजक समूहका बालकृष्ण खत्रीलाई र महिला उत्कृष्ट खेलाडीको पुरस्कार साइक्वारी युवा क्लबकी जुनु बुढालाई प्रदान गरिएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य पद्मीकुमारी बोहराले खेलमा सहभागी सम्पूर्ण खेलाडीलाई बधाई दिएकी थिइन् ।

कार्यक्रमकी सभाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाले खेलमा सहभागी सबै खेलाडीप्रति आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार २१:०१