एमाले विदुरमा ६५ सदस्य निर्वाचित, पदाधिकारीको घोषणा अध्यक्ष मण्डलले गर्ने
१६ कात्तिक, नुवाकोट । नेकपा एमाले विदुर नगरपालिकाको प्रथम अधिवेशनले ६५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । ७५ सदस्यीय कमिटीमा १० सदस्य पछि मनोनित हुने नेताहरूले बताएका छन । दुई दिनसम्म चलेको अधिवेशनले ६५ सदस्यमात्र निर्वाचित गर्न सफल भएको हो ।
जिल्लास्तरीय नेतापिच्छेका उम्मेदवार भएपछि सहमतिमा पादधिकारी घोषणा गर्न समस्या भएको अध्यक्ष मण्डलका एक जना सदस्यले दैनिकीलाई जानकारी दिए । उनका अनुसार अध्यक्ष मण्डलमा रहेका सदस्यहरूकै प्रत्येकका उम्मेदवार छन । जसका कारण फारम नै भरेर मागिएको उम्मेदवारीमा पाँच जनाले अध्यक्षमा आकांक्षा देखाएक छन ।

उनीहरू मतदानमै जान तयार भएका उम्मेदवार देखिएका छन । त्यसरी अध्यक्षमा दाबी गर्दै उम्मेदवारी पेश गर्नेमा नगरकमिटीका पूर्व संयोजक शरण उत्सकु, अध्यक्ष नविन प्रधान, खानेपानीमा भ्रष्टाचार गरेको अभियोग लागेका र बालुवा तस्करीमा मुछिएका सञ्जिव श्रेष्ठ, समाजवादीमा जानबाट अन्तिम समयमा रोकिएका लेनिन रञ्जित र जिल्ला कमिटीका सचिव बुद्धि प्रधानकी बहिनी लक्ष्मी प्रधान रहेका छन ।
अब अध्यक्ष मण्डलले उनीहरू पाँच जना मध्येबाट एक जनको कोटामा अध्यक्ष नियुक्त गर्नेछन । अधिवेशनले निर्वाचित गर्नुपर्ने अध्यक्ष अध्यक्ष मण्डलले नियुक्त गर्ने तयारी भएपछि धेरै प्रतिनिधि अधिवेशनस्थलबाट बाहिरिएका थिए । अधिवेशनस्थलबाट बहुमत प्रतिनिधि बाहिरिएपछि बाँकी भएका केहीलाई ताली पिट्न लगाएर अध्यक्ष मण्डलले सबै अधिकार आफूहरूमा रहेको घोषणा गरेको थियो ।

यस्तै उपाध्यक्षमा सात जनाले उम्मेदवारी दाबी गरेका छन । जसमा गुरू गोविन्द न्यौपाने लगायत छन । सचिवमा तीन जनाले उम्मेदवारी प्रस्तुत गरेका छन । जसमा पूर्व सचिव अनुजकुमार श्रेष्ठ विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रतिनिधिको रूपमा वडा नम्बर ११ का अध्यक्ष तोयानाथ तिमल्सिना र विदुर नगरपालिकाका वडा सदस्य प्रदीप घिमिरेले उम्मेदवारी पेश गरेका छन । घिमिरे पूर्व कमिटीको उपसचिव समेत हुन ।
उपसचिवमा पनि नेताहरू पिच्छेका उम्मेदवारी दाबी परेको छ । उनीहरू को को छानिन्छन भन्ने कुर्न अध्यक्ष मण्डलको घोषणा कुर्नुको विकल्प छैन । अध्यक्ष मण्डलका सदस्य नारायण घिमिरेका अनुसार अहिले विभिन्न पदमा दाबी गरिरहेका सबै उम्मेदवार सदस्यको रूपमा नगरकमिटीमा निर्वाचित भैसकेका छन । अब उनीहरू मध्यबाटै सबैसँग छलफल र परामर्श गरेर अध्यक्ष मण्डलले निर्णय लिनेछ ।

अध्यक्ष मण्डलमा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा, एमालेको बागमती प्रदेश कमिटीका सचिवालय सदस्य एवं पूर्वमन्त्री केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य ठाकुर गजुरेल, बागमती प्रदेश कमिटीकै सदस्य विन्दा ढुंगाना, प्रदेश कमिटीकै सदस्य एवं नुवाकोटका उपाध्यक्ष बद्री मैनाली, सचिव बुद्धि प्रधान र विदुर नगरका पूर्व इन्चार्ज रायण घिमिरे रहेका छन ।
प्रकाशित मिति : November 2, 2021 at 8:03 am










