७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ठगी गर्नकै लागि शाहीले लिए दोहोरो नागरिकता

२१ असोज, सुर्खेत । ठगी मुद्दामा सल्यान कारागारमा रहेका कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-४ का संगम शाही भनिने पछ्यौरी डन शाहीले दोहोरो नागरिकता लिएका छन् । शाहीले दोहोरो दोहोरो नागरिकता लिएर ठगी कार्य गर्दै आएका हुन् ।

शाही ठगी गर्न सल्यान जिल्ला पुगेका बेला प्रहरीले पक्राउ गरेकाे थियाे । उनले काठमाडौं, सुर्खेत, बाँके, कैलाली र बुटवललगायतका क्षेत्रमा विभिन्न कम्पनीमा सेयर लगानी गर्न आग्रह गर्दै ठग्दै आएको प्रहरीले जनाएको छ ।

ठगी मुद्दाको अनुसन्धान गर्दा सान्नीत्रिवेणी गाउँपालिका-४ का संगम शाही भनिने पछ्यौरी डन शाही र निरमकुमार शाही एउटै व्यक्ति भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शाहीले पहिलो नागरिकता लिएको नौ वर्षपछि फेरि अर्को नागरिकता लिएका हुन् । पहिलो नागरिकता लिएको मिति २१ चैत ०६७ मा लिएको दाेश्रोपटक नाम परिवर्तन गरी दोस्रो नागरिकता १६ वैशाख ०७६ मा निरमकुमार शाहीको नामबाट लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको पालामा लिएको दोस्रो नागरिकतामा जन्ममिति पनि सच्चाइएको छ । अघिल्लो नागरिकतामा उल्लिखित जन्ममितिभन्दा यसमा एक वर्ष बढाएर ५ वैशाख ०५० राखिएको छ । पहिलो नागरिकतामा जन्ममिति ५ वैशाख ०४९ उल्लेख छ । यसको प्रतिलिपि २ जे७ ०६९ लिइएको छ । त्यसमा उनले पछ्यौरी डन शाही नाम उल्लेख गरेका छन् ।

अघिल्लो नागरिकतामा साबिकको मेहेलमुडी गाविस-१ ठेगाना उल्लेख छ । यो गाविस हाल सान्नीत्रिवेणी गाउँपालिकामा परिणत भएको छ । वडा पनि समायोजन हुँदा ४ नम्बर बनेको छ । दोस्रो नागरिकता निरमकुमार शाहीको नामबाट लिँदा उनले हालको ठेगाना उल्लेख गरेका छन् ।

विभिन्न ठगीधन्दामा संलग्न शाहीले कसैसँग पैसा लिने बेला नागरिकता नै दिने गरेका कारण पटकपटक प्रतिलिपि लिएको उनलाई चिन्नेहरूले बताउने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दोहोरो नागरिकता लिएको जानकारी आएको र बाँकी विषयमा खोजी भइरहेको बताए । ‘सिफारिसकर्ता र सनाखतमा बस्नेले पनि जानीजानी बदमासी गरको देखिए यसबार अनुसन्धानपछि कारबाही हुन्छ,’ उनले भने, ‘दोहोरो नागरिकता लिनु कानुनविपरीतको कार्य हो ।’

ठगीधन्दामा संलग्न शाहीले विभिन्न मुद्दामा संलग्न रहेको विभिन्न जेलमा बस्ने र कहिले धरौटीमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गोविन्द थापाले बताए । ‘सल्यानमा कारागारमा ठगी मुद्दामा शाही कारागार गएको एक महिनाजति भयो,’ उनले भने, ‘उसका नाममा काठमाडौं, धादिङ, बाँकेलगायत धेरै जिल्लामा ठगीको मुद्दा परेका छन्,’ उनले भने,‘अनुसन्धानका क्रममा कालीकोट जिल्लाबाट दोहोरो नागरिकता लिएको पनि पाएका छौं ।’

प्रकाशित मिति : October 7, 2021 at 4:46 pm