भदौ पहिलो साताभित्र नेकपाको ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सकिने
६ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र सातै प्रदेश र ७७ जिल्लाको एकीकरण सम्पन्न गर्ने भएको छ । एकीकरणका लागि सहजीकरण गर्ने विधान र नियमावली प्रकाशनमा गैसकेका छन । नेकपाको अन्तरिम विधान १७ अध्याय ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठको रहेको छ भने नियमावली २९ धारासहित ५० पृष्ठका रहेको छ ।
योसँगै नेकपाको प्रदेश कमिटी र जिल्ला कमिटी भदौ ३ भित्र एकीकरण गरिने भएको छ । प्रदेश कमिटीको अध्यक्ष र सचिव कार्यकारी हुनेछन् । प्रदेश कमिटी अध्यक्ष केन्द्रीय कमिटीबाटै तय गर्ने तर प्रदेश अधिवेशनपछि भने निर्वाचन हुने व्यवस्था गरिएको छ । १५१ सदस्यीय प्रदेश कमिटीमा एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिनेछ । त्यस्तै, जिल्ला कमिटीमा पनि इञ्चार्ज, अध्यक्ष र सचिव हुनेछन् ।
नेकपाका ४४१ केन्द्रीय सदस्य मध्ये डेढ सयलाई केन्द्रमा राखेर अरु सबैलाई जिल्ला, प्रदेश र स्थानीय तहमा खटाइने तयारी गरिएको छ । नियमावलीमा बैठकको अध्यक्षता आलोपालो गर्ने प्रावधान हटाइएपछि अब नेकपाको शीर्ष वरियतामा केपी ओली रहने भएका छन् । यद्यपी बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्नेछन् भने पत्राचार तथा सर्कुलरमा दुबै अध्यक्षको हस्ताक्षर रहने भएको छ ।
प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १३:०३