माधव नेपालको नाम एमालेको अभिलेखबाट हटाइने
१५ भदाै, काठमाडाैँ । नेकपा एमालेको अभिलेखबाट पूर्वमहासचिव माधवकुमार नेपालको नाम हटाइने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा नेपालसहित पार्टी विभाजनमा संलग्न भएकाहरुको नाम हटाउन निर्देशन दिइएको छ ।
‘विभाजनकारी गतिविधिमा संलग्न भई अलग दल दर्ताका लागि उपस्थित भएर सनाखत गर्ने पार्टीका केन्द्रीय कमिटीका सदस्य र मातहतका सदस्यलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने,’ अपानिमा उल्लेख छ ।
नेपालसहितका केही दर्जन नेताहरुले गत साता एमालेबाट बाहिरिएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका छन । पार्टीको भूमिगत जीवनदेखि नै सक्रिय रहेका नेपालले १४ वर्ष पार्टीको नेतृत्व गरेका थिए । एमालेबाटै उनले पटक पटक सांसद, उपप्रधानमन्त्री, प्रधानमन्त्री बन्ने अवसरसमेत प्राप्त गरेका थिए ।
एमालेले २०७५ जेठ २ गतेसम्मका, एकीकरणका क्रममा आबद्ध भएका र २०७५ जेठ ३ गते पछिका पार्टी सदस्यहरूको सदस्यतालाई आधार मानी सम्बन्धित जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : August 31, 2021 at 8:43 am










