१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

के पी ओलीले कसरी पार्टीको रक्षा गरे ?

-अर्जुन पाण्डे

खोलामा पानी खान आएको ब्वाँसोले आफूले भन्दा तल पानी खाइरहेको बाख्राको पाठोलाइ एक्लै देख्यो । उसको मुख रसायो । तब उ पाठोको नजिकै गएर बम्क्योः ए, मैले पिउने पानी किन धमिल्याइस् हँ ? पाठोले निर्दोष जवाफ दियोः तिमी भन्दा म तल छु मैले कसरी पानी धमिलो बनाउ सक्छु ? ब्वाँसो जंगियो । उसलाई कुनै पनि निहुँ झिकेर पाठोलाइ खानु थियो । फेरि गज्र्योः त्यसो भए तेरो बाबुले धमिल्याएको हो । पाठोले भन्योः मेरो बा त मरेको धेरै बर्ष भैसक्यो । कसरी उनले धमिल्याउने ? ब्वाँसोलाइ खपिसक्नु भएन । बोल्योः त्यसो भए तेरो बाजेले धमिलो बनाएको हो । यति भनेर उसले झम्टा मार्यो र पाठोलाइ एकै गाँसा पार्यो ।

नेकपा एमालेका केही भँडुवाहरुलाई कुनै पनि निहुँ झिकेर पार्टीबाट अलग हुनु थियो, देउवा प्रचण्ड गठबन्धनको सत्तारोहण गर्नु थियो । पार्टीबाट अलग नभै त्यसो हुन सम्भव थिएन । त्यसो त यो रोडम्याप तत्काल बनेको होइन, र यिनको योजना होइन पनि । घोषित योजना मुताविक त्यो जमात यो वा त्यो निहुँ झिकेर, पार्टीलाइ हायल कायल बनाउने काममा लागिरह्यो । पार्टीको जरा काटीरह्यो, नेतृत्वलाइ खुइल्याइसह्यो । तिनले तरह तरहका माग राखे, अत्तो थापे, जब एउटा माग पुरा भयो, अर्को पूरा हुनै नसक्ने माग राखे । अन्ततः जे गुर्नु थियो त्यही गरे ।

खोकिलामा लुकी बसेको विरालोले म्याउ गरिछाड्यो । सिद्धान्त, निष्ठा, अनुशासनलाइ तिलान्जलि दिएर पार्टीको सरकारलाइ विपक्षिको पाउमा चढाउने उनहिरु नै गोयवल्स शैलीमा अझै पार्टी नेतृत्वकै विरोधमा रटानमा लागे, लागिरहेछन् । उनिहरुले सबै दोष पार्टी अध्यक्ष के पी ओलीमाथी नै थोपर्ने कोशिस गरे । आक्रमणको निशाना बनाए । यो स्वभाविकै हो ।

लडाइँमा एक पक्षले विपक्षी फौजको झण्डा बोक्ने अगाडी हिँड्ने सेनालाई नै पहिलो निशाना बनाउँछ । ठीक त्यही दृष्य यहाँ छ । यथार्थमा अध्यक्ष केपी ओलीले नेकपा एमाले मात्र होइन नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गरेका हुन्, गलत दिशा तर्फ जान बाट जोगाएका हुन् । अध्यक्ष ओलीले लिएको त्यो सोच र मूलत दुइ ऐतिहासिक निर्णयले नै सही अर्थमा पार्टी कब्जा गर्ने र आन्दोलनलाइ केही स्वार्थी जमातको हातमा पुर्याउने कुत्सीत उद्देश्यलाई चकनाचुर पारिदिएको हो ।

के हुन् ति दुई निर्णय ?

१. पौष ५ को संसद विघटनः छँदा खाँदाको संसद विघटन गर्नुलाइ उनिहरुले प्रतिगामी कदम हो भनि देश भर झ्याली पिटाए । झट्ट हेर्दा संविधानमा समेत नभएको सो कदम अनुचित थियो कि भन्ने लाग्यो धेरैलाइ । तर त्यो अत्यन्त सुझबुझका साथ यथा समयमा लिइएको दूरगामी महत्वको निर्णय थियो ।

एउटा ठूलो जोखिम थियो । यदि त्यो निर्णय नलिएको भए के हुन्थ्यो ? वा त्यही निर्णय पनि एक घण्टा ढिलो गरि लिइएको भए के हुन्थ्यो ? यो स्पष्ट छः यदि त्यो निर्णय लिन केही मिनेट मात्र बिलम्व भएको भए प्रधानमन्त्रीको पद र अध्यक्ष दुवै ओलीको हातबाट फुत्किएर तत्क्षण प्रचण्डको हातमा पुग्थ्यो जो खिइँदै गएको माओवादी पार्टी देखि आतंकित र एमालेको संगठन, जनमत साथै अध्यक्ष ओलीको कमजोर स्वास्थ देखेर भविष्यको मीठो सपनामा लोभिएको थियो ।

ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्ष मात्र होइन साधारण सदस्यताबाट समेत निष्काशन गरिसकिएको थियो । पार्टी र सरकार दुवैको लगाम आफ्नो हातमा आएकोमा दंग थियो । तर पौष ५ गते जब संसद विघटन भयो तब पासा पल्टियो । प्रचण्ड माधवका सपनाका शिसा महलमा एकाएक चट्यांग पर्यो र आँखै अगाडी झर्याम झुुरुम भयो ।

यस घटनाबाट सबैभन्दा मर्माहत कोही भएका छन् भने प्रचण्ड नै हुन जो संभावनाको शिखरबाट एकैचोटी फेदीमा थचारिन पुगेका थिए । संसद विघटन विरुद्ध अदालतमा मुद्धा भैरहँदा अदालतले लिएको थोरै समय षडयन्त्रहरुका पर्दाफास गर्न र गलत प्रबृत्ति विरुद्ध जनतासम्म जाने अवसरको रुपमा उपयोग भयो । रात रहे अग्राख पलाउँछ । यो समयमा शक्ति सन्चय स्वरुप देशव्यापी कार्यक्रमहरु भए । ओलीको पक्षमा देशैभर सभा जुलुुसहरु भए । यसरी प्रचण्ड माधवहरु मुखमा आइसकेको शिकार अकास्मात गुमेकोमा घाइते चितुवा झैं विक्षिप्त हुने नै भए ।

के ओलीले संविधान मै नभएको निर्णय गर्नु हुँदैनथ्यो ? के यो कदम असंबैधानिक वा प्रतिगामी हा ? यदि त्यो निर्णय भएको थिएन भने के हुन्थ्यो ? अहिले प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष भैरहेका हुन्थे । माधव नेपाल दोश्रा अध्यक्ष र के पी ओली लगायत कैयौंलाइ राजनीतिको मूल प्रवाहबाट किनारा लगाइएको हुन्थ्यो ।

जनताको विश्वास जितेको, केपी अपोलीले नेतृत्व गरेको कम्युनिष्ट मूल धारको पार्टी प्रचण्डको कब्जामा पुग्थ्यो । यसरी पौष ५ को निर्णयले कम्युनिष्ट पार्टी र आन्दोलनको रक्षा भएको थियो । यस अर्र्थमा नेकपा एमालेका लाखौं लाख कार्यकर्ता र नेपाली जनताले अध्यक्ष ओलीलाइ धन्यबाद दिनु पर्दछ । के पी ओलीको उक्त निर्णयलाइ भोली कम्युनिष्ट आन्दोलनको इतिहासले मुल्यांकन गर्नेछ ।

२. फागुन २८ को बैठकः गत फागुन २३ मा अदालतले नेकपाको दर्ता खारेज गरि दिएपछि खारेजीमा परेको नेकपा र यसका नेताहरु पुन अर्को नाम लिएर निर्वाचन आयोग जानु पथ्र्यो । प्रथम अध्यक्षको हैसियतमा ओलीले प्रचण्डलाइ फोन लगाए तर प्रचण्डले त्यसको रेस्पोन्स गरेनन् । अब दुवै पार्टी आआफ्नै पुरानो पार्टी सम्हाल्न अग्रसर भए ।

यतिबेला एमालेका माधव नेपाल गुट प्रचण्डसंग दैनिक पेरिसडाँडामा बैठक गर्दथे । फैसला भएको पाँच दिन सम्म पनि उनिहरु पार्टी सम्पर्कमा आएनन् । यदि फागुन २४ गते नै माधव पक्षिय नेताहरु एमाले पार्टीमा आइदिएको भए सायद अवस्था अर्कै हुने थियो । तर प्रचण्डले उल्टै एमाले कब्जा गर्न माधव पक्षलाइ उक्साए, माधव नेपालहरु एमालेमा विद्रोह गर्ने र पुनः माओबादीसंग पार्टी मिलाउने भाषणबाजी हुनथालेपिछ अध्यक्ष ओलीले नेकपामा बाँकी रहेका नेताहरु लिएर फागुन २८ मा एमालेलाइ पुनर्गठन गरेका हुन् ।

यो बैठकले स्वाभाविक रुपमा केपी ओलीलाई मजबुत र माधव नेपालहरु अल्पमतमा पर्नु थियो परे । यहि निर्णयले रन्थनिएका उनिहरुको अन्तिम दाउ थियोः पार्टीलाइ जेठ २ गतेमा फर्काउने र पुनः बहुमत लिने । जेठ दुइको रडाको पनि अरु क्यै नभएर पार्टीमा आफ्नो गुमेको सत्ता फिर्ता गर्ने रणनीति नै हो । यो अवस्थामा माधव नेपालको हातमा एमालेको बहुमत हुनुको अर्थ के हुन्थ्यो ? स्पष्ट छ, पार्टी पुनः प्रचण्डसंगको एकिकरण । जसरी पनि पार्टी कब्जा हुन्थ्यो । फेरी पनि यहाँ के पी ओलीले एमालेलाइ षडयन्त्रकारीहरुको पन्जामा जान बाट जोगाएका हुन् ।

नेपाल कम्युष्ट पार्टीैको इतिहासमा पुष्पलाल र मदन भण्डारी पछि कम्युनिष्ट आन्दोलनका मुल धारको नेतृत्वकर्ता हुन् के पी शर्मा ओली । कमजोर पार्टीलाइ झण्डै दुइ तिहाइ जनमत जित्ने अवस्थामा ल्याउने जनअभियानका नायक हुन् के पी ओली । एमाले पार्टीका रक्षक हुन् के पी ओली ।

केही लोभी पापी र उद्धण्डहरुलाइ साथ लिएर गएका माधव नेपाल अर्कै पार्टी निर्माणमा लागिसक्दा पनि दोश्रा तहका भनिने नेताहरु अझै एकताको नाममा विविध खाले निहुँ झिकेर एमालेलाइ कमजोर पार्ने दाउ खेलिरहेछन् । यो उनिहरुको अन्तिम दाउ हो । यो दाउ भुत्ते भैसकेको छ ।

अब एमाले अनुशासित, र निष्ठाबानहरुको पार्टी बन्छ । अबका दिनमा कुनै पनि गुट उपगुटका गतिबिधिलाइ पार्टी नेतृत्वले निस्तेज पार्नु पर्छ । अर्को निर्वाचनमा पुन एमाले आउनेछ । केपी ओली कै नेतृत्वको बहुमत सरकार बन्नेछ । देशले खोजेको यही हो ।

(पर्यटन व्यवसायी पाण्डेले समसमायिक विषयमा कलम चलाउने गरेका छन ।)

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १४:११