१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बुधबारदेखि खुल्दै, कति दिने आवेदन

१९ साउन, कठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाेलि (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन  तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ साउन २० गतेदेखि बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । ३० प्रतिशत प्राथमिक शेयर जारी गरेपश्चात् चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १४:५२