१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमालेले बनायो ९ विभाग, स्कूल विभाग प्रमुखमा ओली

१८ साउन, काठमाडौँ । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका ९ वटा विभाग बनाएको हो ।

सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहने भएका छन्। स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।

यस्तै, पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, स्कूल विभागमा अध्यक्ष केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि आइतवार बसेको बैठकले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । बैठकले असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

पार्टीलाई तलैदेखि सुदृढ गरेर लैजाने नीति अनुरूप वडा र पालिकामा अधिवेशन गर्न लागिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार साउन २३ गतेसम्म सदस्यता नवीकरण गरेर राख्ने निर्णय भएको छ । एमालेले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रकाशित मिति : August 2, 2021 at 6:24 pm