३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

भक्तपुरमा कांग्रेस र माओवादीका २०० बढी युवा एमालेमा, महेश बस्नेतले गरे स्वागत (भिडियोसहित)

१६ साउन, काठमाडाैँ । भक्तपुरमा कांग्रेस र माओवादीका २०० बढी युवा एमालेमा प्रवेश गरेका छन । उनीहरूलाइ नेकपा एमालेका युवा नेता महेश बस्नेतले स्वागत गरे । राष्ट्रिय युवा संघ मध्यपुर थिमी नगरकमिटीको आयोजनामा शनिबार भएको वृहत पार्टी प्रवेश कार्यक्रममा उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनविरुद्ध युवाहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । देशका अधिकांश जिल्लाहरुमा पछिल्लो समय कांग्रेस तथा माओवादी परित्याग गर्नेको लर्को नै लागेको छ । कांग्रेस, माओवादीसहितको गठबन्धन मुलुक र जनताको पक्षमा नभई आफ्नो विगतका कालो कर्तुतहरुलाई लुकाउनको लागि सत्ताको खेलमा लागेको भन्दै कांग्रेस तथा माओवादी त्याग्नेको संख्या उल्लेख्य हुँदै गएको छ ।

नवप्रवेशीहरुले भक्तपुरमा शनिबार एमालेमा प्रवेश गरेको काष्टिङमात्र भएको उल्लेख गर्दै आगामी दिनमा हजारौं युवाहरु एमालेमा प्रवेश गराई भक्तपुर जिल्ला एमालेमय बनाउने बताए । भक्तपुरको विकास र समृद्धिको यात्रा नेकपा एमालेको विकल्प अरु नभएकाले एमालेमा नै प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

पद र प्रतिष्ठाको लागि भन्दा पनि आफ्नो ठाउँको लामो समयदेखी विकास र समृद्धिमा पछि परेको अवस्थामा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत निर्वाचित भएसँगै जिल्लाको विकासले ठूलो फड्को मारेको भन्दै एमाले नै रोजेको नवप्रवेशीहरुले बताए ।

उक्त क्रममा नेता बस्नेतले नवप्रवेशीहरुले एमालेको घरभित्र प्रवेश गरेकाले आगामी दिनमा क्षमता अनुसारको जिम्मेवारी दिने बताए । एमाले वा युवा संघमा प्रवेश गरेसँगै जनताको बिचमा रहरलाग्दो, भरलाग्दो तथा बैरीको लागि डरलाग्दो भई पार्टीको निर्देशन अनुसार अगाडी बढ्न निर्देशन दिँदै नेता बस्नेतले जनताको पक्षमा काम गर्दा कुनै समस्या आएको खण्डमा आफ्नो कार्यकर्ताको रक्षाका लागि नेतृत्वले जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने प्रतिवद्धता जनाए ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरप्रमुख बाशुदेव थापा, संघका उपाध्यक्ष तथा युथफोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख असोक चौलागाईलगायतका संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 22:12