१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

सर्वोत्तम सिमेन्टको शेयर काण्डः धितोपत्र बोर्डसँग अर्थ मन्त्रालयले माग्यो विवरण

१४ साउन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर आचारसंहिता र कानूनविपरीत लिएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको छ । ढुंगाने त्यसरी सेयर हत्याएको विषयमा यसअघि समाचारहरू प्रकाशित भएका थिए । मन्त्रालयले सोधेको स्पष्टिकरणमा विभिन्न सञ्चारमाध्यममा बोर्डसँग सम्बन्धित समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण भएको उल्लेख छ।

मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ, “सञ्चारमाध्यम आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ।” धितोपत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादाविपरीत काम गरेका थिए ।

उनले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको पाइएको थियो । त्यस्तै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी श्रीमतीको नाममा उक्त कम्पनीको शेयर राखेको पाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १३:०८