२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

माधव नेपाल समूह नयाँ पार्टी नबन्दासम्म एमालेमै रहने, अस्थायी युद्धविराम हुने संकेत

१२ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी नबन्दासम्म एमालेमै रहेर अभियान चलाउने निष्कर्षमा पुगेको छ । दुई दिनसम्म भएको आफूपक्षिय स्थायी कमिटीका सदस्यहरूसँगको छलफलपछि नेपाल समूह यस्तो निष्कर्षमा पुगेको हो ।

१० बुँदे सहमतिको जगमा टेकेर पार्टी भित्र अन्तरसंघर्ष चर्काउने रणनीति नेपाल समूहले अख्तियार गरेको छ । योसँगै केही समयका लागि एमालेभित्र अन्तरसंघर्ष बाहिर देखिन कम हुने भएको छ । नेपाल  समूहकाे बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।

बैठकमा सहभागी एमालेका सचिव भीम आचार्यले यथासक्य चाँडो पार्टीको विवाद निरूपण गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भने ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो। मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ ।’

उनका अनुसार युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्नुपर्ने विषयमा समेत कुरा भएको छ । बैठकमा एमालेमै रहेर आन्तरिक विवादका बारेमा छलफल चलाउँदै जाने र नयाँ पार्टी बनाउने विषयमा तत्काल गतिबिधि नगर्ने बारेमा छलफल भएको छ । यद्यपी नेता नेपालले भने वर्तमान सरकारमा सहभागिता जनाउनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : July 27, 2021 at 10:26 am