२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्सले प्रतिस्पर्धा गर्दै

१२ साउन, काठमाडाैँ । टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले प्रतिस्पर्धा गर्ने भएका छन् । एलेक्सले पुरुषको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटाैँ लेनमा रहेका छन् ।

एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् ।पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेकाे छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०८:२०