राष्ट्रपतिमाथि कांग्रेसको आक्रोशः ओलीलाई सपथ खुवाउँदा मस्किने, तर देउवालाई बधाई पनि नदिने !
७ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका सदस्य रमेशजंग रायमाझीले शेरबहादुर देउवा नेतृत्वको सरकार जनादेश प्राप्त भएको बताएका छन्। रायमाझीले बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै यस्तो दाबी गरेका हुन्।
बैठकमा बोल्दै उनले भने, ‘सर्वोच्च अदालतको परमादेश पनि जनादेश नै हो। कुनै बेला दुईतिहाइ बहुमत रहेका केपी ओलीसँग अब जनादेश छ भन्ने आधार छैन’। ‘सर्वोच्च अदालतको परमाशेद पनि जनादेश नै हो । १४६ ले हस्ताक्षर गरेका थिए, प्रधानमन्त्रीले विश्वासको मत लिँदा १६५ सांसद पक्षमा उभिए। यो त झन् बलियो जनमत हो।’
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुवाउँदा राष्ट्रपति मस्किएको आरोप लगाउँदै भने, ‘ओलीलाई सपथ गराउँदा मस्किदै गर्ने, हाँस्दै गर्ने, गिजिँदै गर्ने’ । ‘तर प्रधानमन्त्री शेरबहादुर देउवालाई चाहिँ बधाई पनि नदिने?’ उनले सपथ कार्यक्रममा राष्ट्रपतिले आफ्नो मर्यादा भुलेको आरोप लगाए।
उनले भने, ‘सपथग्रहण कार्यक्रममा म आफैँ पनि उपस्थित थिएँ। त्यो हलमा सञ्चारमाध्यम पनि थियो। तर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्दा संविधानको धारा छाडिएको थियो’, उनले भने, ‘आफू अनुकुल हुँदा सबै सहज गर्ने तर आफ्नो प्रतिकुल प्रधानन्त्री हुँदा राष्ट्रपति पनि असहयोगमा उत्रिनु पटक्कै राजनीतिक संस्कार होइन।’
प्रकाशित मिति : 16:09









