प्रचण्ड र माधव देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन्: नेता बस्नेत
५ साउन, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय युवा संघ अन्तर जिल्ला विशेष प्रदेशको बानेश्वरकाे विस्तारित भेलालाई सम्बोधन गर्दै बस्नेतले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव प्रचण्डहरु कांग्रेसको पुच्छर बनेको बताए ।
उनले भने, ‘गाई भैंसी चराउन जाँदा झिंगाले टोक्छ अनि प्याट्ट हान्छ, त्यो पुच्छर त्यति अमर्यादित हुन्छ,त्यसको काम झिंगा मार्ने हो, आज प्रचण्ड र माधव शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन् ।’
बस्नेतले एमालेका केही नेताहरु मन्त्री र फ्लाट पाइने लोभमा कांग्रेसको पछि लागेकाे बताए । पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बचाउन र सदन जोगाउन देउवालाई मत दिएको बताउनु गलत भएको उनकाे भनाइ छ ।
उनले भने, ‘कमरेड केपी शर्मा ओली ज्यूले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउने साथीहरुले केपी ओलीलाई भोट हाल्ने हिम्मत गर्नुभएन ? एमालेलाई भोट हालेर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्वीप विरुद्ध किन कांग्रेसमा भोट हाल्नुभयो ? देशी विदेशी शक्तिको साँढगाँढमा अन्य पार्टीको षडयन्त्रमा किन काम गर्नुभयो ?’
प्रकाशित मिति : 17:37









