२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरोकपः इटली र इंग्ल्याण्ड कसले मार्ला बाजी ? यस्तो छ विगत

-विष्णु खनाल

युरोपीयन फुटबल महासंघका सदस्य राष्ट्रका पुरुष खेलाडीहरुको राष्ट्रिय टिमबीचको प्रतिस्पर्धा युरो २०२० को उपाधी होड नेपाली समय अनुसार सोमबार बिहानको राति ००ः४५ बजे हुँदैछ । युरोको १६ औं संस्करणको फाइनल खेलमा युरोपीयन फुटबलका प्रभावशाली दुई देशहरु इटली र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । युईएफए युरोपीयन फुटबल प्रतियोगितालाई युरोपीयन प्रतियोगिताको रुपमा धेरैजसो चिनिन्छ । अझ यसलाई अनौपचारिक रुपमा युरो पनि भन्ने गरिन्छ । युरोपका राष्ट्रिय पुरुष टिमहरुवीचको यो प्रतिस्पर्धाले युरोप महादेशको फुटबलको विजेता तय गर्ने गर्दछ ।

युरोपीयन फुटबल प्रतियोगिता अर्थात् युरोको सुरुवात सन् १९६० बाट भएको हो । यसको अवधारणा सन् १९२७ मा फ्रान्सेली फुटधबल फेडेरेशनका महासचिब हेनरी डिलाउनेले प्रस्तुत गरेका हुन् । तर यसले डिलाउनेको मृत्युको तीन बर्षपछि सन् १९५८ मा मात्र मूर्तरुप पायो । हरेक चार बर्षमा आयोजना गर्नेगरि सन् १९६० बाट यो प्रतियोगिताको सुरुवात गरिएको थियो । प्रायः विश्वकपाको वीच अवधीमा आयोजना गरिने यो प्रतियोगितालाई सुरुवातमा युरोपीयन नेसन्स कपको नामले चिनिन्थ्यो । सन् १९६८ देखि यसलाई युईएफए युरोको नाम दिइयो । यो युरो कपको १६ औँ संस्करण चलिरहेको छ ।

सहभागीहरु

सन् १९६० मा पहिलो संस्करणको आयोजना हुँदा ४ वटा देशहरु फ्रान्स, सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकियाले प्रतिस्पर्धा गरेका थिए । यो क्रम सन् १९७६ को संस्करणसम्म चल्यो । सन् १९८० देखि चारको ठाउँमा आठवटा देशहरुले प्रतिस्पर्धा गर्ने व्यवस्था गरियो । यो संस्करणदेखि दुईवटा समूहमा बाँडेर प्रतिस्पर्धा गराउने व्यवस्था गरियो । दुवै समूहका विजेताले फाइनल खेल्ने र उपविजेताहरुले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने व्यवस्था गरियो । यो व्यवस्थालाई सन् १९८४ देखि दुई समूहका विजेता र उपविजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरियो ।

सन् १९९६ को संस्करणदेखि युरोमा १६ वटा राष्ट्रहरुको प्रतिस्पर्धा रहने व्यवस्था गरियो । सन् २०१६ को १५ औं संस्करणबाट २४ वटा देशहरुले विभिन्न छ वटा समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउने व्यवस्था गरियो । अहिलेको १६ औं संस्करणमा युरोपका २४ वटा देशहरुले प्रतिस्पर्धा गरेका थिए । समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल हुँदै इटली र इंग्ल्याण्ड उपाधी यात्राका लागि तम्तयार रहेका छन् । युरोको मुख्य प्रतियोगितामा सहभागी हुनका लागि छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ । आयोजक राष्ट्रले भने छनोट चरण नखेली प्रतियोगितामा सहभागीता जनाउन पाउछ ।

हालसम्मका विजेताहरु

युरोपका देशहरुवीचको फुटबलको मुख्य स्पर्धा युरोको अहिले १६ औं संस्करण चलिरहेको छ । यसअघि १५ वटा संस्करणहरु सम्पन्न भइसकेका छन् । ति संस्करणहरुमा हालसम्म दश वटा देशहरुले कम्तिमा एक पटकको उपाधी जितेका छन् । युराकपको पहिलो संस्करण सन् १९६० मा सोभियत संघले उपाधी जितेको थियो । पछिल्लो पटक सन् २०१६ को उपाधी पोर्चुगलले जितेको थियो ।

युरोकपमा सर्भाधिक उपाधी जर्मनी र स्पेनले तीन÷तीन पटक जितेका छन् । त्यसपछि फ्रान्सले २ पटक जितेको छ । रसिया, इटली, चेक रिपब्लिक, पोर्चुगल, नेदरल्याण्ड्स, डेनमार्क र ग्रिसले एक÷एक पटक उपाधी चुमेका छन् । हालसम्म फाइनल पुगेर पनि उपाधी जित्न नसक्नेहरुमा सर्विया (२ पटक फाइनल खेलेको) र बेल्जियम (एक पटक फाइनल खेलेको) रहेका छन् ।

युरोमा सबैभन्दा बढी फाइनल खेल्ने देश जर्मनी हो, जसले छ पटक फाइनल खेलेको छ । त्यस्तै रसियाले र स्पेनले चार÷चार पटक फाइनल खेलेका छन् । फ्रान्स र इटलीले तीन÷तीन पटक फाइनल खेलेका छन् ।

ट्रफि

युरोकपको ट्रफिलाई सम्मानस्वरुप यो प्रतियोगिताको अवधारणाका जननी हेनरी डिलाउनेको नामबाट द हेनरी डिलाउने ट्रफि नाम दिइएको छ । यसको सुरुवातमा दिइने ट्रफिलाई सन् २००८ मा केही परिवर्तन गरेर पुननिर्माण गरियो । अहिलेको ट्रफि ८ किलोग्राम तौल र ६० सेन्टिमिटर उचाइ रहेको चाँदीबाट बनेको छ । यो ट्रफि पुरोना भन्दा २ किलोग्राम बढी तौल र १८ सेन्टिमिटर बढी उचाइको रहेको छ । ट्रफिमा बिजेता देशहरुको नाम कुँदिएको हुन्छ ।
साथै युरोकपका विजेता टीमका खेलाडीहरुले स्वर्णपदक र उपविजेता खेलाडीहरुले चाँदीको पदक पाउँछन् ।

इटली र इंग्ल्याण्डको युरो यात्रा

जारी युरोकपको फाइनलमा आमनेसामने हुन लागेका दुई टोली इटली र इंग्ल्याण्ड विश्व फुटबलका परिचित राष्ट्रहरु हुन् । जारी युरोमा इटली सर्भाधिक गोलकर्ता देश हो । इटलीले १२ गोल गरेको छ भने तीन गोलमात्र खाएको छ । इटलीले समूह चरणमा कुनै गोल नखाई शत प्रतिशत जित हात पारेको थियो । अन्तिम १६ मा अष्ट्रियालाई २–१ ले, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले र सेमिफाइनलमा स्पेनसँग १–१ को बराबरीपछि पेनाल्टी शुटआउटमा ४–२ ले जित्दै नौ बर्षपछि फाइनलको यात्रा तय गरेको हो । इटली सन् २०१६ को युरोकपको क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

जारी युरोकपमा इंग्ल्याण्ड सबल टोलीको रुपमा फाइनलमा पुगेको छ । इंग्ल्याण्डले प्रतियोगितामा कुनै पनि खेल पेनाल्टीमा नपुगी जीत सुनिश्चित गरेको छ । इंग्ल्याण्डले जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म कुनै पनि गोल खाएन । उसले सेमी फाइनलमा भने एक गोल खाएको छ । हालसम्म यसले दश गोल गरिसकेको छ एक गोल खाएको छ । समूह चरणमा इंग्ल्याण्डले क्रोएसिया र चेक रिपब्लिक दुवैलाई १–० ले पराजित गर्यो भने स्कटल्याण्डसँग गोलरहीत बराबरी खेल्यो । अन्तिम १६ मा जर्मनीलाई २–० ले, क्वाटरफाइनलमा युक्रेनलाई ४–० ले र फाइनलमा डेनमार्कलाई २–१ ले पराजित गरेर ५५ बर्षपछि कुनैपनि प्रमुख प्रतियोगिताको फाइनलको यात्रा तय गरेको छ ।

युरोकपमा फाइनल खेल्न लागेको इटली यो प्रतियोगिताको सन् १९६८ को संस्करणको उपाधी विजेता हो । यसका साथै इटलीले युरोकपको सन् १९६८, सन् २००० र सन् २०१२ गरी तीन पटक फाइनल खेलेको छ । साथै सन् १९८० र सन् १९८८ मा पनि इटली अन्तिम चारमा पुगेको थियो । यसरी इटली अन्तिम चारमा पाँच पटक पुगिसकेको छ । यो चौथो पटकको फाइनल खेल खेलिरहेको छ ।

अर्को टोली इंग्ल्याण्ड भने युरोकपका लागि अहिलेसम्म भाग्यमानी नभएको देश हो । इंग्ल्याण्ड युरो इतिहासमा पहिलोपल्ट फाइनल खेल्दैछ । इंग्ल्याण्डले सन् १९६८ मा सेमिफाइनल खेलेको थियो र यो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो । यी दुई बाहेक इंग्ल्याण्डले अरु कुनैपनि युरोकपका प्रतियोगितामा अन्तिम चारको स्थान तय गर्न नसकेको इतिहास छ । अहिले उत्कृष्ठ लयका साथ फाइनल खेल्न गइरहेको छ ।

जारी युरोमा इंग्ल्याण्डले क्वाटरफाइनलको खेल बाहेक अरु सबै खेल घरेलु मैदानमा खेलेको छ । फाइनल खेल पनि इंग्ल्याण्डकै वेम्बलीमा आयोजना हुन लागेको छ । हेरौं इंग्ल्याण्डलाई गृहमैदानले कत्तिको जादू गर्छ ।

फुटबलको इतिहासमा यी दुई टोलीको आमने सामने

इटली र इंग्ल्याण्डको फुटबल प्रतिस्पर्धाको इतिहासलाई हेर्दा सबैभन्दा पहिले सन् १९३३ मा मैत्रीपूर्ण खेलबाट सुरु भएको भेटिन्छ । यो खेलमा १–१ गोलको बराबरी नतिजा आएको थियो । त्योसँगै हालसम्म दुई देशले २७ पटक प्रतिस्पर्धा गरिसकेका छन् । २७ खेलमध्ये इटलीले ११ वटामा जित निकालेको छ । इंग्ल्याण्डले ८ वटामा जित निकालेको छ भने ८ पटक नतिजा बराबर भएको छ ।

यी दुईवीच भएका १९ वटा मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले ७ वटामा जितेको छ । इटलीले ५ वटामा जितेको छ भने ७ वटा खेलमा ड्र भएको छ । त्यस्तै फिफा विश्वकपको छनौट खेलमा यी दुई देश चार पटक आमने सामने भएका छन् । यी खेलमा इटलीले दुई खेल जितेको छ, इंग्ल्याण्डले १ खेल जितेको भने १ खेल बराबरी भएका छन् ।

युरोकपका विभिन्न संस्करणमा भएका खेलहरुमा यी दुई देश हालसम्म दुई खेलमा आमनेसामने भएका छन् । सन् १९८० र सन् २०१२ मा भएका यी दुवै खेलमा इटलीले बाजी मारेको छ । विश्वकप फुटबलमा पनि यी दुई टोलीले दुई पटक प्रतिस्पर्धा गरेका छन् । सन् १९९० र सन् २०१४ को विश्वकपमा भएका खेलमा इटलीले नै जितेको छ ।

पछिल्लो पटक हेर्ने हो भने सन् २०१५ र सन् २०१८ मा भएका मैत्रीपूर्ण दुई खेलमा १–१ गोलको बराबरी भएको छ । त्यस्तै फिफा वल्र्डकप २०१४ मा इटलीले इंग्ल्याण्डलाई २–१ ले जितेको थियो । सन् २०१२ को मैत्रीपूर्ण खेलमा भने इंग्ल्याण्डले २–१ ले खेल जितेको थियो । त्यो खेलभन्दा अगाडि सन् २०१२ को युरोमा इटलीले पेनाल्टी शुटआउटमा ४–२ ले जितेको थियो । यसरी सन् २००० पछि दुई देशवीच भएका पछिल्ला ७ खेलमा ४ खेल इटलीले जितेको छ । १ खेलमा इंग्ल्याण्डले जितेको छ भने २ खेल बराबरी भएका छन् ।

खेलाडीहरू

विश्व फुटबलको इतिहास यी दुवैको नाम विना अपुरो रहन्छ । दुवै देशले विश्वकपको उपाधी समेत चुमेका छन् । यी दुवै फुटबलका हस्तीहरुको फाइनल खेल अत्यन्तै रोचक हुनमा कुनै शंका छैन । दुवै टिममा प्रतिभावान र सक्षम खेलाडीहरुको कुनै कमी छैन । इटलीमा पुराना र अनुभवी खेलाडीहरु छन् भने इंग्ल्याण्डमा आत्मविश्वासी युवा खेलाडीहरुको बाहुल्यता रहेको छ ।

इटलीमा जर्जियो चिलिनी, लियोनार्दो बोनुच्चीजस्ता अनुभवी एवं सदाबहार खेलाडीहरु रहेका छन् । त्यस्तै इंग्ल्याण्डमा हेरी केन, रहिम स्टेर्लिङ्ग, मासोन माउण्ट, ज्याक ग्रिएलिस जस्ता युवा तथा अनुभवी खेलाडीहरुको समिश्रण रहेको छ । इंग्ल्याण्डको टोलीका कोच गरेथ सोउथगेट तथा इटलीका कोच रोबर्टो मान्चिनी रहेका छन् । यो फाइनल खेल २५ बर्षभन्दा कम औषत उमेर भएको इंग्ल्याण्ड र आफ्नो फुटबल करिअरको उत्तरार्धमा पुग्न लागेका परिपक्व खेलाडीहरु भएको इटलीबीचको युवा र बुढाहरुको प्रतिस्पर्धाको रुपमा पनि यदाकदा भनिएको छ ।

अन्त्यमा युईएफए युरोकप प्रतिस्पर्धामा यो सहित दुवै देशले दश÷दश वटा संस्करणमा भाग लिएका छन् । ५५ बर्षपछिको आफ्नो खुशीको पारोलाई अझ माथी पुर्याउँदै युरोकपको उपाधीमाथी आफ्नो देशको नामको खडेरी मेटाउन इंग्ल्याण्डको टोली आतुर रहेको छ भने इटली यो पटकको उपाधीमा बाजी मार्दै विश्व फुटबलमा आफु केही भएको देखाउन चाहान्छ । दुवै टोली आ–आफ्नो इतिहास कायम गर्ने लक्ष्यका साथ वेम्बली मैदानमा नेपाली समयअनुसार भरे राति ००ः४५ बजे आमनेसामने हुँदैछन् । विश्वभर प्रशंसक र शुभचिन्तकहरु भएका दुवै देशवीचको यो खेल संसारभर हेरिनेछ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १५:२३