२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोपा अमेरिका उपाधि भिडन्तः स्टार खेलाडी मेस्सी र नेयमारको प्रतिष्ठाको खेल

-विष्णु खनाल

मानव जातिलाई नै धावा बोलिरहेको कोरोना महामारीको कारणले एक बर्ष पछि सरेर आयोजना भइरहेको कोपा अमेरिका फुटबलको ४७ औँ संस्करणको उपाधीका लागि साविक विजेता ब्राजिल र १४ पटकको विजेता अर्जेन्टिना आमने सामने हुँदैछन् ।

प्रतिस्पर्धा ब्राजिलको माराकाना रंगशालामा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुदैछ । दक्षिण अमेरिकी फुटबलको महाकुम्भको रुपमा लिइने यो स्पर्धामा यस पटक फुटबलका सर्वाधिक चर्चित एवं विश्वभरि नै सुपरिचित टिम ब्राजिल र अर्जेन्टिनाको खेल हेर्न सबै आतुर भएको अवस्था छ ।

दुई टोलीको जारी संस्करणको फाइनल यात्रा

यस प्रतियोगिताको चलिरहेको ४७ औं संस्करणमा अर्जेन्टिना समूह चरणमा समूह ए मा उरुग्वे, पाराग्वे, चिली र बोलिभिया रहेको समूहमा थियो । यसबाट बोलिभिया समूह चरणबाट बाहिरियो । उरुग्वे, पाराग्वे र चिली क्वाटरफाइनलबाट बाहिरिए भने एक्लो अर्जेन्टिना सेमिफाइनल हुँदै उपाधीको प्रतिस्पर्धामा आइपुगेको छ । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३–० ले र सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३–२ ले पराजित गरेको हो ।

ब्राजिल समूह बी मा पेरु, कोलम्बिया, इक्वेडर र भेनेजुएला रहेको समूहमा थियो । यो समूहमा भेनेजुएला समूह चरणबाटै बाहिरियो । इक्वेडर क्वाटर फाइनलबाट बाहिरियो । त्यस्तै पेरु र कोलम्बिया सेमिफाइनलमा पराजित भएसँगै ब्राजिल उपाधिका लागि अगाडि आयो । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले र सेमिफाइनलमा साविक उपविजेता पेरुलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो ।

कोपा अमेरिका फुटबलको इतिहास

कोपा अमेरिका फुटबल प्रतियोगितालाई विश्वकै पुरानो फुटबल प्रतिस्पर्धाको रुपमा लिइन्छ । आजभन्दा करिब १०५ बर्ष अगाडि सन् १९१६ मा यो प्रतियोगिताको पहिलो संस्करणको आयोजना भएको थियो । अर्जेन्टिनामा आयोजना गरिएको पहिलो संस्करणमा ४ वटा देशवीच प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको उपाधी उरुग्वेले जितेको थियो ।

आजपनि उरुग्वे यो फुटबल खेलको १५ पटकको विजेताको रुपमा सर्बाधिक उपाधि जित्ने टोलीको रुपमा रहेको छ । यो संस्करणभन्दा अगाडि ४६ वटा संस्करणको आयोजना भइसकेको छ । ४६ वटा संस्करणमा ८ वटा देशले कम्तिमा एक पटक उपाधि जितेका छन् । उरुग्वे १५ अर्जेन्टिना १४ ब्राजिल ९ पाराग्वे २ चिली २ पेरु २ कोलम्बिया १ बोलिभिया १ ।

हालसम्मका आयोजकहरु

कोपा अमेरिका फुटबलका ४७ वटा संस्करणमध्ये सबैभन्दा बढी ९ पटक अर्जेन्टिनाले आयोजना गरेको छ । त्यसपछि उरुग्वे र चिलीले ७/७ पटक, ब्राजिल र पेरुले ६/६ पटक, ईक्वेडरले ३ पटक, बोलिभियाले २ पटक साथै पाराग्वे, कोलम्बिया, भेनेजुएला र संयुक्त राज्य अमेरिकाले १/१ पटक आयोजना गरेका छन् । यो प्रतियोगिताको ३ वटा स्पर्धामा भने निश्चित आयोजक तोकिएको थिएन ।

हालसम्मका सहभागी राष्ट्रहरु

कोपा अमेरिका फुटबलको इतिहासमा सुरुका ४ वटा संस्करणमा ४/४ वटा राष्ट्रहरुले प्रतिस्पर्धा गरे । त्यसपछिका संस्करणहरुमा ५ देखि ९ वटासम्म राष्ट्रहरु सहभागी भए । यो क्रम २९ औं संस्करणसम्म जारी रह्यो । सन् १९७५ को ३० औं संस्करणबाट १० वटा देशहरुलाई सहभागी गराउन थालियो । सन् १९९१ को ३५ औं संस्करणसम्म यो क्रम चल्यो ।

सन् १९९३ को ३६ औं संस्करणबाट आमन्त्रित दुईवटा टोली सहित १२ वटा मुलुकलाई सहभागी गराउन थालियो । सन् २०१६ को ४६ औं संस्करण संयुक्त राज्य अमेरिकामा आयोजना गरिएको थियो र यसमा १६ वटा मुलुकले प्रतिस्पर्धा गरेका थिए । जारी ४७ औं संस्करणमा १२ वटा राष्ट्रहरुलाई सहभागी गराउने भनेकोमा अष्ट्रेलिया र कतारले सहभागीता नजनाउने निर्णय गरेकाले १० वटा राष्ट्रहरु सहभागी भएका थिए ।

कोपा अमेरिका फुटबल ट्रफी

कोपा अमेरिका फुटबलको उपाधी विजेताले प्राप्त गर्ने ट्रफि आकर्षक र महत्वपूर्ण रहेको छ । ६१ सेन्टिमिटर अग्लो यो ट्रफि ७.१ किलोग्राम तौलको रहेको छ । यो ट्रफिमा २४ क्यारेटको सुनको प्रयोग गरिएको छ । अहिलेको ट्रफि सन् २०१६ मा डिजाइन गरेर तयार गरिएको हो । यो भन्दा पहिलाको ट्रफि सन् १९१६ मा व्युनर्सआयर्सको गहना पसल कासा एस्कासनीबाट ३ हजार स्वीस फ्रान्कमा खरीद गरिएको थियो ।

यो ट्रफि ९ किलोग्राम तौल र ७७ सेन्टिमिटर उचाइको ३ तहको काठको वेसमा बनेको थियो । यो ट्रफिको ठाउँमा नयाँ ट्रफि डिजाइन गरेर प्रयोग गरियो । अहिलेको ट्रफि पहिलेको ट्रफिकै आकारमा डिजाइन गरिएको छ र त्यसमा २०१६ संस्करणको लोगो अंकित छ । उपविजेतालाई चाँदीबाट बनेको अर्को सानो ट्रफि प्रदान गरिन्छ । ट्रफि विजेता टोलीले सँधैका लागि आफुसँग राख्ने गर्दछ ।

ब्राजिल र अर्जेन्टिनाको कोपा यात्रा

कोपा अमेरिका फुटबलको यो संस्करणको फाइनल खेल्न ब्राजिल र अर्जेन्टिना आइतबार माराकाना रंगशालामा उत्रिदैछन् । दुवै देश अधिकांश संस्करणहरुमा सहभागी भएका छन् । कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले १४ पटक र ब्राजिलले ९ पटक जितेका छन् ।

अर्जेन्टिना १४ पटक नै फाइनलमा उपविजेता बनेको छ भने ब्राजिल ११ पटकको उपविजेता रहेको छ । अर्जेन्टिना ५ पटक र ब्राजिल ७ पटक तेस्रो भएका छन् । त्यस्तै अर्जेन्टिना २ पटक र ब्राजिल ३ पटक चौथो भएका छन् । यसरी अन्तिम चार भित्रको खेलमा अर्जेन्टिना ३५ पटक पुगेको छ भने ब्राजिल ३० पटक पुगेको छ । यसमध्ये अर्जेन्टिनाले २८ वटा संस्करणको फाइनल खेलेको छ भने ब्राजिलले २० वटा संस्करणको फाइनल खलेको छ ।

अर्जेन्टिनाले २८ मध्ये १४ मा जित निकालेर उपाधि जितेको छ भने ब्राजिलले २० मध्ये ९ वटामा जित निकालेको छ । कोपा अमेरिकामा हालसम्म ब्राजिल र अर्जेन्टिनाले जम्मा ३४ पटक खेलेका छन् । जसमा ब्रजिलले १० पटक र अर्जेन्टिनाले १५ पटक जित निकालेका छन् भने ९ खेल बराबरी भएका छन् ।

कोपा अमेरिका फुटबलमा अहिलेसम्म ब्राजिलले ४३० गोल आफ्ना प्रतिस्पधीहरुलाई हानेको छ । यो संख्या अर्जेन्टिनाको ४७२ रहेको छ । ब्राजिलले २०३ गोल खाएको छ भने अर्जेन्टिनाले १८१ गोल खाएको छ । यसरी हेर्दा गोल अन्तरको हिसाबले अर्जेन्टिनाको सकारात्मक गोल अन्तर २९१ रहेको छ भने ब्राजिलको २२७ गोल रहेको छ ।

कोपा अमेरिका फुटबल स्पर्धामा सबैभन्दा बढी जित्ने उरुग्वेले १५ संस्करण जितेको छ । दोस्रो अर्जेन्टिनाको १४ र ब्राजिलको ९ वटा उपाधी रहेको छ । जारी संस्करणको उपाधी जितेर अर्जेन्टिना प्रथम स्थानमा रहेको उरुग्वेसँग बराबरी गर्न चाहान्छ भने ब्राजिल एक अंकको उपाधीबाट दुई अंकको उपाधीतर्फ यात्रा तय गर्न चाहान्छ ।

यो संस्करण र कोपाको इतिहासवीच एउटा अर्को रोचक प्रसंग पनि अहिले मेल खान्छ । कोपाको इतिहासमा विश्वभर आएको इन्फ्लुएन्जा फ्लुको महामारीका कारणले सन् १९१८ को संस्करणलाई एकबर्ष पछि सारिएको थियो । महामारीपछिको त्यो संस्करणमा ब्राजिलले कोपाकोे आफ्नो पहिलो उपाधी जितेको थियो । त्यस्तै अहिलेको खेल पनि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण सन् २०२० को संस्करणलाई एक बर्ष पछाडि सारेर सन् २०२१ मा आयोजना भइरहेको छ ।

यसरी महामारी पछिको स्पर्धाको उपाधी कसले जित्ने भन्नेमा पनि आम फुटबल प्रेमीहरुले व्यग्र प्रतिक्षा गरिरहेका छन् । सय बर्षको समय, स्वास्थ्य महामारी र उपाधी होडको ऐतिहासिक संगम छ अहिले । ब्राजिल महामारी पछि जितेको एक अंकको उपाधी संख्यालाई एक सय बर्षपछिको महामारी पछि दुई अंकमा परिणत गर्न आतुर छ भने अर्जेन्टिना २१ औं शताब्दीमा ठूला प्रतियोगिताको उपाधी चुम्दै प्रथम स्थानमा रहेको उरुग्वेसँग बराबरी गर्न चाहान्छ ।

दुई देशवीचको फुटबल प्रतिस्पर्धा

ब्राजिल र अर्जेन्टिना १४ बर्षपछि कोपा अमेरिकाको फाइनल खेल्न आइपुगेका छन् । पछिल्लो पटक सन् २००७ मा ब्राजिलले अर्जेन्टिनालाई हराएर उपाधी जितेको थियो । त्यस यताको सन् २०१९ मा पनि अर्जेन्टिना ब्राजिलसँग सेमिफाइनलमा पराजित भएको थियो । यो खेलमा हारे यताका १९ खेलमा अजेन्टिना अपराजित रहेको छ । त्यस्तै ब्राजिल २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग पराजित भए यता भएका १३ खेलमा अपराजित रहेको छ ।

अर्जेन्टिनाले सन् १९९३ को संस्करणमा कोपा अमेरिकाको फाइनल जितेपछि अरु कुनैपनि ठूला प्रतियोगितामा जितको स्वाद चाख्न पाएको छैन । अर्जेन्टिनाले सन् २००४ यता वल्र्डकपको फाइनल एक पटक र कोपा अमेरिकाको फाइनल चार पटक खेलेपनि उपाधी जित्न नसकेको हो । कोपामा दुई पटक ब्राजिलसँग र दुई पटक चिलीसँग पराजित भएको छ ।

उता ब्राजिलले भने सन् २००४ यता कोपा अमेरिकाको ३ वटा उपाधी जितिसकेको छ । २००४ र २००७ को संस्करणमा अर्जेन्टिनालाई हराएर उपाधी जितेको थियो । २०१९ मा भने सेमिफाइनलमा अर्जेन्टिनालाई र फाइनलमा पेरुलाई पराजित गर्दै उपाधी जितेको थियो । ब्राजिलका लागि अर्को सुखद इतिहास छ ः उसले आफ्नो घरेलु मैदानमा खलेका सबै फाइनल खेल जितेको छ । यसपटक अर्जेन्टिनाले इतिहास बनाउछ कि बनाउँदैन प्रतिक्षाको विषय बनेको छ ।

दुइ देशले कोपा अमेरिकाको फाइनल खेल हालसम्म १० पटक खेलेका छन् । दशमध्ये ८ वटामा अर्जेन्टिनाले बाजी मारेको छ भने २ वटामा ब्राजिलले जितेको छ । त्यसमा पनि पछिल्ला दुई फाइनल सन् २००४ र २००७ मा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ ।

ब्राजिलको होमग्राउण्डमा यी दुई देशले ८ पटक खेलिसकेका छन् । यी आठवटै खेलमा ब्राजिलले हार ब्यहोरेको छैन । दुवै टोलीवीच माराकारना रंगशालामा १३ पटक भेट भएकोमा ब्राजिलले ७ वटामा जित निकालेको छ ।

अर्जेन्टिनाले २ वटामा जितेको छ भने ३ वटामा ड्र भएको छ । यो रंगशालमा अन्तिम भेट १९९८ मा भएको थियो । यसमा अर्जेन्टिनाले जितेको थियो ।

सन् २००० पछि विभिन्न प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ६ वटा फाइनल खेल गुमाएको छ, जसमा ३ वटा ब्राजिलसँग हारेको छ । ब्राजिल र अर्जेन्टिनाबीच भएका अन्तिम ६ वटा खेलमा अर्जेन्टिना एक खेलमा मात्र हारेको छ । छ मध्ये तीनमा जित र दुई ड्र भएका छन् ।

दुई स्टार खेलाडी मेस्सी र नेयमारको प्रतिष्ठाको खेल
यो पटकको कोपा अमेरिका फाइनल खेल फूटबलको पुरानो इतिहास बोकेका दुई देशवीचको मात्र नभएर अहिलेको फूटबल जगतमा विश्वचर्तित फूटबलका जादूगरहरुवीचको प्रतिष्ठाको खेल पनि रहेको छ । फुटबल खेल आफैंमा समूहमा खेलिने खेल भएकोले सामूहिक योगदान आवश्यक हुन्छ । दुवैतर्फ क्षमतावान र प्रभावशाली खेलाडीहरुको कमी छैन । तरपनि विश्व फुटबलका यी दुई हस्तीवीचको यो प्रतिस्पर्धा सबैको आकर्षणको केन्द्र बनेको छ ।

मेसी चर्चित फुटबल क्लव बार्सिलोनाका स्टार खेलाडी हुने भने नेयमार फ्रान्सेली फुटबल क्लव पीएसजीका स्टार हुन् । दुवै खेलाडीको आफ्नै जादुमयी फुटबल कौशल रहेको छ । दुवै खेलाडीलाई क्लवले गोल मेसिन मानेका छन् । विश्वभर दुवै खेलाडीका करोडौं शुभचिन्तकहरु रहेका छन् । मेसीले ६ पटक बेलोन डिआर जितेका छन् ।

मेसी सन् २००७ को संस्करणदेखि अर्जेन्टिनी टोलीको सदस्यका रुपमा कोपामा सहभागी छन् । उनले आफु सहभागी भएका ३ वटा संस्करणमा भोगेको पराजयको इतिहासलाई सफलतामा परिणत गर्नुपर्ने छ । क्लव फुटबलमा सफल भएपनि मेसिले राष्ट्रलाई महत्वपूर्ण र ठूला स्पर्धामा उपाधी दिलाउन नसकेको आरोप छ । यो उनैलाई पनि खड्किएको हुनुपर्छ । यो अभावलाई पूर्ति गर्न पनि यो पटकको उपाधी जित्नु मेस्सीका लागि प्रतिष्ठाको लडाइ हो ।

त्यस्तै नेयमार भने २०१९ मा चोटका कारणले प्रतियोगिता खेल्न पाएनन् । उनको अनुपस्थितिमा पनि टोलीले उपाधी उचालेको थियो । अहिले त्यो विजयलाई कायम राख्नुपर्ने दायित्व मुख्य खेलाडीको रुपमा उनीमा रहेको छ । आ–आफ्नो देशका लागि खेलेको सन्दर्भमा मेस्सी र नेयमार ५ पटक आमने सामने भएका छन् । जसमा ३ पटक अर्जेन्टिनाले जितेको छ भने २ पटक ब्राजिलले जितेको छ ।

कोपाको जारी संस्करणमा मेस्सी राम्रो लयमा रहेका छन् । उनले सर्बाधिक ४ गोल गर्नुका साथै ५ गोलका लागि सहयोग गरेका छन् । साथै अर्जेन्टिनाले खेलेका छ खेलमध्ये चार खेलमा म्यान अफ द म्याच भएका छन् । नेयमारले भने २ गोलमात्र गरेका छन् ।

अर्जेन्टिनाका लागि अन्य खेलाडीलगायत गोलकिपर इमिलियानो मार्टिनेज पनि उत्कृष्ट खेलमा छन् । उनले कोलम्बियाका ३ खेलाडीको पेनाल्टी सुट रोकेर अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए । ब्राजिलमा पनि नेयमारका अतिरिक्त अन्य उत्कृष्ट खेलाडीहरुको पनि संयोजन रहेको छ ।

जसले यी दुवै देश उपाधीका लागि योग्य रहेको देखाउछ । अव यी सारा तथ्यहरुका वीच विश्वभरका फुटबल प्रेमीहरुको प्रतिक्षाको घडी आइतबार बिहान ब्राजिलको रियो द जेनेरियो स्थित माराकाना रंगशालमा हुने खेलसम्मका लागि रहेको छ । एजेन्सीहरूको सहयोगमा 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार २२:०३