२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

संविधान विपरित एमालेले कुनै पनि बहस चलाउँदैनः उपप्रमुख थापा (भिडियोसहित)

२२ असार, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टी संविधान विपरित कुनै पनि बहस चलाउने अवस्थामा नरहेको बताउनुभएको छ ।केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा समिक्षा गर्नुपर्ने भन्दै राखेको भनाइपछि एमाले गणतन्त्र बिरोधी रहेको भन्दै आलोचना हुन थालिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत रहनुभएका थापाले संविधान विपरित एमालेले कुनै पनि बहस नचालउने स्पष्ट पार्नुभयो । एभरेष्ट नेपालसँग भएको कुराकानीमा थापाले अहिले नेकपा एमालेको नीति, नेपालको संविधानको संवैधानिक व्यवस्थाभन्दा फरक ढंगको संरचनागत बहस र समीक्षातर्फ ढोका खुला गरेको वा गर्ने भन्ने नरहेको प्रष्ट पार्नुभयो ।

एभरेष्ट नेपालका प्रस्तोताले बस्नेतले बोलेको कुरा र प्रधानमन्त्रीको सल्लाहकार समूहले उहाँलाइ गृह मन्त्री बन्न रोकेको भन्ने विषयमा प्रष्ट पार्न गरेको अनुरोधमा थापाले दिनुभएको जवाफ जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ ।

केपी शर्मा ओलीले आफ्ना कुरा अरुमार्फत गराउनु हुन्न। मैले यहाँ जे भनेको छु, मेरा कुरा नै भनेको छु । प्रेस सल्लाहकारका हिसाबले तोकिएको परिभाषित कामभित्र म प्रधानमन्त्रीलाई सहयोग गर्ने टिमको सचिवालयको सदस्य हुँ । म त्यस हिसाबले उहाँको कामलाई सहज बनाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने भूमिकामा छु । जहाँसम्म व्यक्तिगत विचार छ, म पार्टीको केन्द्रीय सदस्य हुँ, म निर्वाचित केन्द्रीय कमिटीको सदस्य हुँ, मनोनित होइन ।

पार्टी जीवको झण्डै तीन दशक पार्टी सदस्यका रुपमा मैले बिताएको छु । आफ्नो जुँगाको रेखी बस्नुभन्दा अगाडिदेखि यो आन्दोलनमा लागेर आएको छु । ढुंगा माटो अर्को पार्टीको हुँदा पनि जुुधेर एन्टिकरेन्ट राजनीतिक धार बोकेर यहाँसम्म आएको छु । त्यस हिसाबले भन्छु, मेरा भन्ने कुराका निम्ति मलाई सीमित गर्नुस् । प्रधानमन्त्रीले आफ्ना कुरा आफैँ बोल्नुहुन्छ, आफैँ लेख्नुहुन्छ । आफैँ अन्तरवार्ता दिनुहुन्छ, आफै दस्तावेज लेख्नुहुन्छ, आफै निर्देशन पठाउनुहुन्छ, प्रधानमन्त्रीले आफ्ना कुरा आफैँले भन्नुहुन्छ । अरु कसैले प्रधानमन्त्रीको छोरा हुँ, छोरी हुँ , नाती हुँ, ज्वाइँ हुँ भनेर भन्छन् भने तिनीहरुको त्याे नक्कली कुरा हो भनेर बुझ्नुस् ।

जहाँसम्म महेश बस्नेतजीको बारेमा तपाईंले कमेन्ट गर्नुभयो । तपाईंहरुजस्ता केही परिचालित मिडियाका साथीहरुले महेशजीलाई गृहमन्त्रीका रुपमा हामीले रोकेकाे भन्ने ढंगले, कतिपयले त हामीलाई महेशजीको पैतालामुनि राखिन र दाँजिन योग्य होइनन् भनेर पनि भन्नेलेख्ने गर्नुभयो । अनि सँगसँगै गृहमन्त्री बन्न हामीले रोकेकाे भनेर पनि..अझ उहाँ निकट, उहाँ नै इन्चार्ज नै रहेको संगठनका जिम्मेवार पदाधिकारीहरुले स्टाटस लेख्ने, मिडियाले त्यस्ता कुराहरुलाई प्रमुखता दिने, तस्बिरसहित हामीलाई फरक ढंगले चित्रण गर्ने कोशिस गरेको पनि देखियाे । मैले सम्बन्धित साथीहरुलाई यसबारे भनेको छु, ती चिजहरुमा महेशजी आफैँ संलग्न हुनुहुन्छ भन्ने ठान्दिनँ ।

उहाँले सोसल मिडियामा आफैँले स्टाटस लेखेर म संलग्न छैन, मेरो त्यो कुरा होइन भनेर भन्नुभएको छ । मन्त्री बनाउने प्रधानमन्त्रीको कुरा हो । हिजो उहाँ सांसद नहुँदा, चुनाव हारेकाे बेला पनि उद्योग मन्त्री हुनुभयो, हामी खुशी नै थियौं । प्रधानमन्त्रीले उहाँलाई इच्छा लागेको, मन पराएको र उहाँबाट अपेक्षा गरेको जिम्मेवारी दिनुभएको हुन्थ्यो भने व्यक्तिगत रुपमा हाम्राे केही टिप्पणी थिएन । महेशजी प्रतिस्पर्धी पनि होइन । उहाँको र हाम्राे भौगोलिक अवस्थिति धेरै टाढा छ । उहाँ मन्त्री हुँदा मेरो जिल्लामा हिँड्दिनुस् न भन्दा उहाँ सहजै गएर युवाहरुकाे बीचमा उहाँले सम्बोधन पनि गर्नुभएको थियाे ।

म महेशजीलाई गुण्डुको गाविस अध्यक्ष हुँदादेखि नै जान्दछु । याे कुरा आफ्नो ठाउँमा छ। केही पानी-अनलाइनहरूले महेश बस्नेतलाई हामीले गृहमन्त्री बन्न रोकेको हो भनेर दुष्ट प्रचार लागे । अझ महेश बस्नेतको आडमा आफ्नो स्वार्थका रोटी सेक्न अभिसप्त व्यक्तिहरुले हामीलाईं त्यसढंगले चित्रण गर्न खोजे। ती झूठा कुरालाई मैले कुनै महत्व दिन्नँ । महेश बस्नेतलाई कसैले दयामाया गरेर महेश बस्नेत बनाएको पनि होइन । महेश बस्नेतसँग योग्यता हुन्थेन भने उहाँ केन्द्रीय कमिटीमा आउनु हुन्थेन । उहाँ सांसद नहुँदैै मन्त्री हुनुहुन्थेन होला । तर आज केही मान्छेहरुले उहाँलाई मोहरा बनाएर जसरी अस्वस्थ्य वातावरण सिर्जना गर्न खोजिरहेका छन्, त्यस चिजलाई उहाँले नियन्त्रण गर्नुहोस् !

उहाँले केन्द्रीय कमिटीमा बोल्दा केही कुरा राख्नुभएको हो, कुनै लिखित प्रस्ताव होइन। म यति मात्रै भन्न चाहन्छु, महेश बस्नेत वा अरु कोही कसैले व्यक्तिगत रुपमा यो व्यवस्था कस्तो हुने ? यसमा देखापरेका समस्याहरु कसरी समाधान गर्दै जाने भन्ने सम्बन्धमा आन्तरिक रुपमा छलफलक विषय विभिन्न रुपमा बाेलेकाे हुनसक्छ, एउटा जिवन्त पार्टीभित्र त्यसरी विषय उठ्नसक्छ । तर, अहिले नेकपा एमालेको नीति, नेपालको संविधानको संवैधानिक व्यवस्थाभन्दा फरक ढंगको संरचनागत बहस र समीक्षातर्फ ढोका खुला गरेकाे वा गर्ने भन्ने छैन ।

उहाँले व्यक्तिगत कुरा राख्नुभयो, केन्द्रीय कमिटीले उहाँको कुरालाई स्वीकार गरेन र त्यसखाले बहसको ढोका अहिले खुला भएगरेको छैन । महाधिवेशनकाे तयारीका सन्दर्भमा पार्टीले नीति निर्माण गर्दा जरुरी ठान्यो भने विभिन्न विषयमा बहसहरु हुनसक्छन् । विभिन्न विषयमा बहस खुला गरिन्छ। अहिले बहसको ढोका खुला भएको छैन र बहस सुरु भएको छैन । उहाँसहित केन्द्रीय कमिटीमा सांगठनिक योजनाका पाँच बुँदामाथि सुझाव दिने सबैका कुरा पार्टीको सम्पत्तिका रुपमा सुरक्षित छन् । तर अहिले नेकपा एमाले धर्मनिरपेक्षताको समीक्षा गर्ने ठाउँमा छैन । संघीयतालाई खारेज गर्ने ठाउँमा पनि छैन । गणतन्त्रलाई नेकपा एमालेले खारेज गरेर प्रचण्डको “इच्छा” पूरा पनि गर्दैन ।

नेकपा एमाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको संवैैधानिक फ्रेमवर्क र संरचनाभित्रै अगाडि बढ्ने, यसभित्र नै संघीयतालाई आफ्नो खुट्टामा उभ्याउने, धर्मनिरपेक्षतालाई सबै जनताप्रति राज्यको निरपेक्ष व्यवहार, सबै धर्मप्रति समान व्यवहारका रुपमा अभ्यास गर्ने गर्छ। गणतन्त्रलाई नेपाली स्वरुपको गणतन्त्रका रुपमा कसैले खोस्न नसक्ने, कसैले यसलाई समाप्त पार्न नसक्ने, आफ्नो खुट्टामा र समृद्धिको जगमा उभिएको जनताले आफ्नो तन्त्रका रुपमा र गणतन्त्रका रुपमा यसलाई अझ सुरक्षित गर्ने, जनताले नै सुरक्षित गर्ने परिपाटीका रुपमा अगाडि बढाउन चाहन्छ। जनता खुशी भएनन् भने हामीले चाहेर मात्रै र हामीले स्थापित गरेको परिपाटी हो भनेर मात्रै पनि कुनै व्यवस्था जोगिन्नन् ।

जनतामा निराशाको खेती गर्ने, जनतामा एकदम गलत र दुष्ट प्रचार मात्रै गर्ने, जनतामा गणतन्त्रको नेतृत्वमाथि प्रहार गर्ने, राष्ट्रपतिमाथि प्रहार गर्ने, प्रधानमन्त्रीमाथि हमला गर्ने र नियाेजित मिडिया स्टण्ट गरेर, केहीकेही मिडियामा ट्रायल गरेर गणतन्त्रविरोधी क्रियाकलापहरु गर्ने, अनि गणतन्त्रको सुँढेनी बन्न खोज्ने प्रवृत्तिगलत छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता- आजका संबैधानिक व्यवस्था हुन्। हामी अहिले संविधानविरोधी क्रियाकलापमा छैनौं ।

प्रकाशित मिति : 12:18