२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

संसद विघटन संवैधानिक छ, मुलुकलाई निकास दिन चुनावमा जानुपर्छः एमीकस क्युरी पाठक

२१ असार, काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधान अनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको बताउनु भएकाे छ । प्रतिनिधिसभा विघटन विरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित इजलासमा स्वतन्त्र राय दिनुहुँदै पाठकले संसद विघटन संवैधानिक भएको भन्दै रिट निवेदन खारेज गर्नु पर्ने राय दिनुभएको हो । संविधानमा धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको उहाले बताउनु भएकाे छ ।

त्यस्तै धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन पनि संविधानसम्मत रहेको पनि पाठकले दावी गर्नुभयाे । ‘मुलुकलाई निकास दिन एकमात्र बिकल्प चुनाव हो । त्यसकारण रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ’ उहाले भन्नुभयाे ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संवैधानिक दायित्व भएकाले संवैधानिक नै रहेको उहाँको राय थियो । सरकार गठनको विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन नहुने सर्वोच्च अदालतले यसअघि भनिसकेकाले त्यसमा थप भनिरहन नपर्ने पनि पाठकको भनाइ थियो ।संवैधानिक इजलासमा एमीकस क्युरीले राय दिने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : July 5, 2021 at 4:39 pm