माधव नेपाललाई एमालेमै फर्काउने प्रयासमा घरमै पुगेको टोली निराश बनेर निस्कियो
२० असार, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई एमालेमै फर्काउने प्रयास स्वरूप उनको निजी निवास पुगेको दोस्रो तहका नेताहरू निराश बनेर फर्किएका छन । आइतबार बिहानै माधव नेपाललाई सम्झाउन पुगेका दोस्रो तहका नेताहरू निराश बनेर निस्किएका हुन ।
पार्टी एकताका लागि कसरत गरिरहेका दोस्रो तहका सात नेता वरिष्ठ नेता माधवकुमार नेपालको निवसा कोटेश्वरमा पुगेका थिए । उनीहरूले विपक्षी गठबन्धनमा नरहेको जानकारी गराउने गरी संयुक्त विज्ञप्ति जारी गर्न अनुरोध गरेका थिए । तर माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागि दिएको हस्ताक्षर फिर्ता लिँदा धोका दिएको हुने भन्दै बरू एमाले छाड्ने तर देउवालाई धोका नदिने अडान राख्दै आएका छन ।
दोस्रो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल मिलेको सन्देश दिनुपर्ने भन्दै नेपाललाइ अनेक कोणबाट फकाउने कोशिश गरेका थिए । अन्तिममा नेता नेपालले कार्यदलमा रहेका आफू निकटका नेताहरूसँग सल्लाह गरेर केही निर्णयमा पुग्ने बताएको नेपाल भेट्न पुगेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
उनले गठबन्धन छाड्न सजिलो नभएको भन्दै देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गर्नुपर्ने बताएका छन । एमाले केन्द्रीय कमिटीको बैठकमा दिन हराएका नेपाल हिजो बिहानैदेखि पुनः समूहका नेताहरूसँगको छलफलमा रहेका छन ।
सोमबार बेलुकासम्म हस्ताक्षर फिर्ता लिन एमाले केन्द्रीय कमिटीले नेताहरूलाइ अल्टिमेटम दिएको छ । त्यसअघि नै सम्भव हुँदासम्म पार्टी मिलाउने भन्दै दोस्रो तहका नेताहरू दौडधुपमा लागेका छन । कार्यदलमा रहेर छलफल गरिरहेका नेताहरू सुवास नेम्वाङ, बिष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे नेपाल निवास पुगेका हुन ।
प्रकाशित मिति : 12:40









