२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्वीटजरल्यान्डलाई ३-१ ले स्तब्ध पार्दै स्पेन युरोकपको सेमी फाइनलमा प्रवेश

-राजन ढकाल

१९ असार, काठमाडौँ । स्पेन युरोको सेमी फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा स्वीटजरल्यान्डलाई ३-१ ले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा दुबै टिमले एक-एक गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थपेको ३० मिनेटमा पनि खेल बराबरी नै भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । पेनाल्टीमा स्पेनले तीन गोल गरे पनि स्वीजरल्याण्डले एक गोल मात्र गर्न सक्यो ।

पेनाल्टी सुटआउटमा स्पेनका ड्यानी ओल्मो, मोरेनो र ओयार्जाबालले गोल गरे। स्विट्जरल्यान्डका लागि भने पहिलो पेनाल्टी हानेका गाभ्रानोभिकले मात्र गोल गर्न सके।

त्यसअघि स्पेनले आत्मघाती गोल उपहार पाएर अग्रता लिएपनि त्यो जोगाउन सकेन । आठौँ मिनेटमा स्वीटजरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गर्दा स्पेनले अग्रता लिएको थियो ।

तर स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले ६८ औँ मिनेटमा बराबरी गोल फर्काए । शाकिरीको गोलसँगै खेल बराबरीमा पुगेको थियो ।

तर ७७ औँ मिनेटमा रिमो फ्र्युलरले रेर्ड कार्ड खाएपछि स्वीटजरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ००:४९