असोज ३ देखि ए डिभिजन लिग
१५ असार, काठमाडाैँ । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सबै पदाधिकारीहरुसँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । आज ९सोमबार० दिउसो एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो ।
बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो । असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन ।
एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १२:००