सर्वोच्चलाई प्रधानमन्त्रीकाे प्रश्नः विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ?
३ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको माग अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने हो भने एमाले सत्तापक्ष कि प्रमुख प्रतिपक्षी दल हुने भनेर सर्वोच्च अदालतलाई प्रश्न गर्नुभएकाे छ ।
सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ ।
कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ? किनभने श्री शेरबहादुर देउवा त नेकपा (एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ । एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन ।’
हेर्नुहोस्, प्रधानमन्त्री ओलीको जवाफ :
प्रकाशित मिति : June 17, 2021 at 1:52 pm









