२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले फुटाउने अपराधमा नलाग्न झलनाथ खनालकाे लिखित अपिल

२ असार, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले विभाजन गराउने अपराधमा नलाग्न लिखित अपिल गर्नुभएकाे छ । उपचारका लागि दिल्ली जानुअघि लिखित अपिल गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

यस्ताे छ उहाँको अपिलः

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछ भन्ने विश्वास लिएको छ।

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र धुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अतसंघर्ष को पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पो र अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता-अखण्डता- लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण हो ।

त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । हाम्रो पार्टी नेकपा (एमाले) सयौं सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौंको प्रवास,
जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो ।

सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र को हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ।

देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु ।

पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गयौ भने मात्र हामि सफल हुन सक्छौं र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न
चहान्छु । धन्यवाद।

प्रकाशित मिति : 19:00