२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखकाे पत्रः गैर मधेसीलाई पनि सरकारमा समावेश गरौं

३० जेठ, काठमाडाैँ । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद्मा पहाडे समुदायलाई समावेशी बनाउन अनुरोध गर्नुभएको छ । उहाँले सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै आज पत्र पठाउनुभएको हो ।

पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ । संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराउनुभएको हो ।

‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसोबास रहेको भएता पनि गैर मधेसी पहाडी मूलका नागरिकहरुको पनि उल्लेख्य बसोबास रहेको छ,’ प्रदेश प्रमुखको पत्रमा भनिएको छ,‘प्रदेशको मन्त्रिपरिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन ।’

प्रकाशित मिति : June 13, 2021 at 2:11 pm