२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त

२८ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त हुनुभएकाे छ । राष्ट्रिय जनमोर्चाका सांसद थापाले बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा भएको मतदानमा पार्टी निर्णयविपरित तटस्थ बसेका कारण पार्टीले उहाँलाई कारबाही गरेको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

तर थापा भने विपक्षी गठबन्धनको विरुद्ध उभिँदै आउनुभएकाे छ। पार्टीले थापालाई पदमुक्त गर्न भनी गरेको सिफारिशअनुसार सभामुख नेत्रनाथ अधिकारीले उहाँलाई पदमुक्त गरिएको पत्र सभाको बैठकमा पढेर सुनाउनुभएकाे हाे । यसैबीच सभाको बैठकमा प्रदेश सरकारका मन्त्री उपस्थित नभएकोले सदन स्थगित भएको छ। सदन चल्नका लागि कम्तिमा एक जना मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ। थापा पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ। थापाको पद गएसँगै सरकार बनाउन ३० जना सभासद हुँदा पुग्ने भएको छ।

विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ। यसअघि पनि पार्टीले कारबाही गरेपछि उहाँ त्यसविरुद्ध सर्वोच्च अदालत जानुभएकाे थियाे । अदालतले अन्तरिम आदेश जारी गर्दै उहाँलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो। त्यसविरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टी र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुग्नुभएकाे छ । त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ।

प्रकाशित मिति : June 11, 2021 at 12:42 pm