४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२८ जेठ, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ६ वर्ष अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले ६ वर्ष अवधिमा कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

बैंकले निष्काशन गरेकाे ऋणपत्रमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने छ। यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको संकेत गर्दछ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:४६