‘अदालतले कानुन पढ्छ, हाम्रो जनमत पढ्दैन, वकिलको तर्क हेर्छ, हाम्रो भविष्य हेर्दैन’
२८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को महाधिवेशन अायोजक कमीटीले पार्टीभित्र अनुशासनको नाममा डण्डा चलाउन नपाउने भएपछि अन्तिम पटक एमालेलाई एक ढिक्का हुने अवसर प्राप्त भएको छ । यद्यपी एमालेमा नफर्कने निर्णय लिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भूमिका के हुन्छ भन्नेमा धेरैको चासो छ । कर्णाली प्रदेशका चार सांसदको पुनर्वाहली गर्दै एमालेले पछिल्लो समय गरेका सबै कारबाही अबैध हुने आशयको ठहर सर्वोच्च अदालतले गरेपछि एमालेभित्र एक खालको तनाव र खुशी उत्पन्न भएको छ । पार्टी एकताका नाममा जोडबल गरिरहेका नेताहरूलाइ समेत यसले राहत मिलेको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब जेठ २ मै फर्किएर एमालेले सबै समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘फेरि भन्छु, राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न । नेकपा (एमाले) भित्रको समस्या राजनीतिक हो र यसको निकास राजनीतिक रुपमा खोज्नुपर्छ । निकास खोज्न जति ढिलो हुन्छ, थप पराजय, थप बेइज्जत र थप भुक्तमान भोग्नुबाहेक अरु विकल्प के छ र ?’
नेता रिजालले कानुन पढ्ने तर जनमत नपढ्ने भन्दै भन्नुभएको छ ‘अदालतले कानुन पढ्छ, हाम्रो जनमत पढ्दैन, वकिलको तर्क हेर्छ, हाम्रो भविष्य हेर्दैन । त्यसैले बाटो बिराइयो भने जहाँबाट यात्रा सुरु गरेको हो, त्यहीँ फर्किनुपर्छ भनेझैँ बिना दाउपेच एमालेको एकताका लागि जेठ २ नै प्रस्थान र मिलनविन्दु हो ।’
प्रकाशित मिति : 09:00









