२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

अतिवादीहरू नेकपा (एमाले) विभाजनमा आफ्नो भविष्य खोजिरहेका छनः सचिव विष्ट

२७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले अतिवादीहरूले एमाले विभाजनमा आफ्नो भविष्य खोजिरहेको बताउनुभएको छ । सचिव विष्टले एमालेभित्रकै केपी शर्मा ओली समूहभित्र केही, माधवकुमार नेपाल समूह भित्र केही अन्य तत्वहरूले समेत एमाले विभाजनमा आफ्नो भविष्य देखेर त्यस्तै गतिबिधि गरिरहेको बताउनुभयो ।

सचिव विष्टले नेकपा एमालेको चिहानमा ढाड तताउन चाहने शक्तिहरू यतिबेला सलबलाइरहेको बताउनुभयो । उहाँले एमालेका ९९ प्रतिशत कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेको बताउनुभयो । उहाँले एमालेलाई एउटा सशक्त पार्टीको रूपमा देख्न चाहने नेपाली जनताको चाहनामा कुठराघात हुन नदिने बताउनुभयो ।

सचिव विष्टले एमाले एकताका लागि छलफल गरिरहेको समयमा मन्त्री खानका लागि दौडिरहेको भन्दै लगाइएको आरोपको खण्डन गर्दै एकताविरोधी तत्वले त्यस्तो हल्ला चलाएको बताउनुभयो । उहाँले नेपालमा कम्युनिस्ट आन्दोलन बलियो भएको हेर्न नचाहने तत्वहरू व्यापक रूपमा सलबलाइ रहेको उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले गरेको अपिलमा मुलभुत भन्ने एउटा शब्द हटाएपछि एकताको वातावरण थप बन्ने बताउनुयभो ।

सचिव विष्टले आफू समाप्तै हुनुपरे पनि तयार भएर एकताको लागि लडिरहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिनका लागि आफूहरूको प्रयत्न जारी रहने बताउनुभयो ।

प्रकाशित मिति : 10:00