४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, व्याजदर कति ?

२५ जेठ, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नामको ऋणपत्र आजबाट बिक्री खुल्ला भएको छ । याे ऋणपत्रको अवधि ६ वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।  यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

यस ऋणपत्रमा छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्ममा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको संकेत गर्दछ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:३१