सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमालेद्वारा विपक्षमा मतदान गर्न ह्विप जारी
२५ जेठ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले सभामुखलाई विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।
बिहान ९ बजे विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका २ जना छन्।
नेपाल–खनाल पक्षको समर्थनका कारण १३ मात्र सांसद भएको माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो। गत जेठ १० गते एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
प्रकाशित मिति : 08:45









