२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपाललाई भेटे लगत्तै देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

२४ जेठ, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा बुझाइएका १४६ सांसदको हस्ताक्षर थमौतीका लागि दौडधूप शुरू गर्नुभएकाे छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमतिका लागि ६ बुँदे प्रस्ताव अगाडि सार्दै देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्तालाई शर्त बनाएपछि नेपाल समूह धर्मसंकटमा परेको छ । ओलीको प्रस्तावबारे खनाल–नेपाल समूह आन्तरिक छलफलमा गरिरहेकाे छ ।

सर्वोच्चमा गरिएका हस्ताक्षर फिर्ता गर्न ओलीको प्रस्ताव आएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार माधव नेपालसँग भेटवार्ता गर्नुभएकाे छ । कोटेश्वरमा नेता नेपालसँग भेटवार्ता गरेलगत्तै प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभएकाे छ ।

नेपाली कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका १४६ सांसदले प्रतिनिधिसभा विघटनको ३ दिनपछि जेठ १० गते हस्ताक्षरसहित निवेदन दिएका थिए । माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दा विपक्षी गठबन्धनमा बहुमत देखिएको थियो ।  ओलीको प्रस्तावपछि परिस्थिति बदलिन सक्ने भन्दै प्रचण्डले सक्रियता बढाउनुभएकाे हाे ।

प्रकाशित मिति : 12:59