चार वर्षीय बालकसहित दुईको मृत्यु
२५ असार, झापा । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ ।
यता बिर्तामोड–२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ । ६५ वर्षीया लिम्बूलाई विद्युत्को तार जडान गर्ने क्रममा आइतबार करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न सात पक्राउ
प्रहरीले झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको छ । गएराति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवतीसहित सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २५ असार २०७५, सोमबार ११:२७