३ असार २०८१, सोमबार | Mon Jun 17 2024

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो


२१ जेठ, नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ । अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय सङ्क्रमितहरु रहेको जनाइएको छ । भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ । यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १६:१७